News

ओडीआई वरीयतामा नेपाल १९ बाट १६औँ स्थानमा उक्लियो

ओडीआई वरीयतामा नेपाल १९ बाट १६औँ स्थानमा उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरीयता (ओडीआई) मा नेपाल १६ औं स्थानमा उक्लिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओडीआई वरीयतामा सुधार ल्याएको हो।

लिग २ मा लामो समय खराब प्रदर्शन गरेको नेपालले पछिल्लो एक महिनामा ब्यापक सुधार ल्याएको छ। लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ।

लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ। अब बिहीबार हुने यूएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउनेछ। ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १ हजार १६७ अंक पाएको छ। नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ। अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

घरेलु मैदानमा सक्टल्यान्ड र नामिबियासँग खेल्नुअघि नेपाल १९ औँ स्थानमा थियो। त्यसपछिका ११ मध्ये एक बाहेक सबै खेल जिती नेपाल १६ औँ स्थानमा उक्लिएको हो। यससँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ। 

ओडीआई

विशेष