News

यसरी फिर्ता आयो राष्ट्रपतिको गालाबाट हराएको कोठी !

यसरी फिर्ता आयो राष्ट्रपतिको गालाबाट हराएको कोठी !

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गरेसँगै २९ फागुनमा राष्ट्रपति कार्यालयको वेबसाइटमा उनको तस्वीर राखियो । तर, त्यो तस्वीरमा पौडेलको अनुहार वास्तविक छैन ।

अनुहारको कोठी र चाउरीसमेत हटाईएको छ। अनावश्यक चिल्लो बनाएर तस्वीर राखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भयो। करिब ८० वर्षको उमेरका पौडेल यो तस्वीरमा ६० वर्षभन्दा कमका देखिन्छन् । तर, यो पौडेलको पुरानो तस्वीर भने होइन । तस्वीरलाई फोटोसपबाट मिलाईएको छ।

पौडेलका दुवै गालामा कालो कोठी छन्, जसमध्ये एउटा गालाको कोठी टाढैबाट देखिन्छ । तर, यो तस्वीरमा दुवै कोठी गायब छन् । अनुहारको वर्ण वास्तविकभन्दा निकै गोरो बनाइएको छ । यस विषयमा राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव सागर आचार्यले अनभिज्ञता दर्शाएका थिए। 

राष्ट्रपति कार्यालयको वेबसाइट गृह मन्त्रालयले सञ्चालन गर्ने गर्छ । शीतलनिवास निकट एक स्रोतले नयाँ राष्ट्रपतिको चाकडीका लागि गृह मन्त्रालयका कर्मचारीतन्त्रले यो तरिका अपनाएको हुन सक्ने बतायो ।

स्रोतका अनुसार यसअघि विद्या भण्डारी पहिलोपटक राष्ट्रपति बन्दा पनि उनको सम्पादन गरिएको तस्वीर राख्न खोजिएको थियो । एउटा सम्पादन गरिएको र अर्को नगरिएको तस्वीर मन्त्रालयका कर्मचारीले राष्ट्रपति स्वयमलाई छान्न लगाएका थिए । भण्डारीले भने मौलिक तस्वीर नै राख्न निर्देशन दिएकी थिइन् ।

त्यसै अनुसार उनको सेतो सारी र माला लगाएको तस्वीर वेवसाइटमा राखियो भने विभिन्न सरकारी कार्यालयमा पनि यही तस्वीर प्रयोगमा ल्याइएको थियो । अहिले पनि राष्ट्रपति वा परिवारका सदस्यलाई रोज्न लगाएर नै तस्वीर राखिएको हुन सक्ने स्रोतको दाबी छ ।

राष्ट्रपतिको तस्बिर अहिले फेरिएको छ । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन बसाइएको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीको तस्बिर यत्रतत्र टाँग्ने गरिएका थिए भने अब उनको स्थान पौडेलले लिनेछन् ।
 

राष्ट्रपति रामचन्द्र पौडेल

विशेष