News

द्वन्द्वकालीन मुद्दाले पनि किन जोड्न सकेन माओवादी घटकलाई ?

द्वन्द्वकालीन मुद्दाले पनि किन जोड्न सकेन माओवादी घटकलाई ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा परेपछि माओवादी धारका नेताहरुको पटक पटक वैठक वस्यो। वैठकपछि उनीहरुले एउटै वोली बोले। कसैले जंगल पस्ने बताए भने कसैले अझै पनि हतियारमा खिया नलागेको भन्दै धम्की दिए।

तर, व्यवहारमा भने उनीहरु अझै पनि मिल्न सकेका छैनन्। ९ घटकहरू एकठाउँमा उभिने भनेपनि त्यसमा ३ घटक सहमत हुन सकेनन् । अरु ६ वटा घटकहरू एक कित्तामा उभिँदा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिष्ट पार्टी, नेपाल भने उनीहरुको कित्तामा अटाएका छैनन्।

गत २८ गते माओवादी घटकहरूको तर्फबाट संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा यी ३ घटकहरू देखिएनन् । आफुहरुलाई पनि संसद्वादी दलको रूपमा प्रस्तुत गरिएपछि असहमति जनाएको बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले बताए।

‘हामी सिर्फ द्वन्द्वकालीन मुद्दाका सन्दर्भमा मात्रै एक हुने भनेको, त्यसमा पनि सम्मानजनक व्यवहार भएन । हाम्रा राजनीतिक असहमतिहरू यथावतै छन् । हामी संसद्वादी होइनौँ’ उनले भने–‘पत्रकार सम्मेलनमा प्रस्तुत हुने विज्ञप्तिमा हामीलाई संसद्वादी दलको रूपमा प्रस्तुत गरिएको छ, जसमा हाम्रो असहमति रह्यो । हामीले उपस्थित हुन सक्दैनौँ भनेर भनेका थियौँ ।’

त्यसो त उक्त विज्ञप्ति बनाउने जिम्मा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पाएका थिए । महराले तयार पारेको विज्ञप्तिलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालले सम्पादन गरेपछि ३ दलले असहमति जनाएका हुन् । बाँस्तोलाले भने, ‘अलिकति लचिलो बन्यो भन्दैमा आफैँजस्तो ठान्नू गल्ती भयो ।’

माओवादी घटकहरूले मंगलबार (आज) अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो । अन्तिम समयमा आएर रोकिएको अन्तरक्रियात्मक कार्यक्रमबारे भने आफूलाई जानकारी नभएको बाँस्तोलाले बताएका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भने सबैलाई जानकारी गरिएको बताए । 

यी सवै प्रकरणले द्वन्द्वकालीन मुद्दाले समेत माओवादी घटकलाई जोड्न नसकेको देखिएको छ। तर माओवादी अध्यक्ष दाहाल भने ‘मविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाले नराम्रो केही गरेको छैन, बरु मद्दत गरेको छ । त्यो मुद्दाले हामीलाई फेरि एक बन है, फेरि एकठाउँ आऊ भनेर भनेको छ । मैले यही अर्थमा बुझ्छु ।’ भन्दै भन्न थालेका छन्।

यो पनि,

माओवादी धार माओवादी घटक

विशेष