रवि लामिछानेको राहदानी सम्वन्धि अनुसन्धान सकियो, प्रतिवेदन सरकारी वकिलमा

प्रहरीले रवि लामिछानेको राहदानी सम्वन्धी अनुसन्धान सकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रकरणको अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राहदानीसम्बन्धी अनुसन्धान बुझाएको कार्यालय स्रोतले जनाएको छ। प्रहरीले लामो समय अनुसन्धान गरेर केही दिन अघि बुझाएको हो। यसबारे कार्यालयले अध्ययन गरिरहेको छ।
यो प्रकरणमा केही दिन अध्ययनपछि मात्रै अन्तिम निर्णय गरिने स्रोतको भनाइ छ। अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप छ।
झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो। त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो।
उक्त रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले उनको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उनी उपप्रधान एवं गृहमन्त्री समेत थिए। त्यसपछि उनले राजीनामा दिएका थिए। उनले नागरिकता पुनः प्राप्ति गरेका थिए भने निष्क्रिय भएको नागरिकताबाट बनाईएको राहदानी पनि फिर्ता गरेका थिए।