News

प्रचण्ड विरुद्ध मुद्दा हाल्नेलाई ‘ज्यान मार्ने’ विप्लवको धम्की

प्रचण्ड विरुद्ध मुद्दा हाल्नेलाई ‘ज्यान मार्ने’ विप्लवको धम्की

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि नेत्रविक्रम चन्द (विप्लब) खुलेआम ज्यान मार्ने धम्की दिएर हिडिरहेका छन्। 

‘एकीकृत जनक्रान्ति’ भन्दै केही वर्षअघिसम्म स्वयम् प्रधानमन्त्री दाहालमाथि नै भौतिक आक्रमणमा ओर्लिएको विप्लव समूह तत्कालीन केपी ओली सरकारसँग आकस्मिक सम्झौतापछि लगभग निष्क्रिय थियो ।

तर, हिजो आज भने उनै प्रधानमन्त्री दाहालको ओत लागेर आफूहरुविरुद्ध बोल्नेलाई ‘माओवादी युद्धवारे बोल्नेलाई जीवनको ख्याल गर्न’ भन्दै धम्की दिईरहेका छन्। सर्वोच्चको मुद्दाका विषयमा अन्य माओवादी नेताहरुले पनि विरोध गरिरहेका छन्, तर उनको विरोधको शैली ‘ठेगान लगाइदिने’, ‘सशस्त्र हिंसाको इतिहास दोहो¥याउने’ र ‘आफ्नो जीवनको ख्याल गर’ जस्ता छन्।

विप्लवले प्रधानमन्त्री दाहाल बसेकै मञ्चबाट खुल्लमखुल्ला ज्यानको धम्की दिइरहेका छन्, तर अहिलेसम्म सरकारको कुनै प्रतिक्रिया छैन । बुधबार पनि उनले द्वन्द्वकालीन मुद्दा फेरि उठाउन खोजिएको भन्दै त्यसमा संलग्नहरुलाई ‘आफ्नो जीवनको ख्याल गर्न’ धम्की दिए ।

‘जनयुद्ध जनताले लडेको युद्ध हो । त्यो युद्धलाई अपवादको रुपमा अपराधीकरण गरिंदैछ । लडेको मान्छेलाई अपराधीकरण गरिंदैछ’ राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई कुनै पनि हालतमा छुट दिन सकिंदैन । जो आपराधिक करार गर्ने उद्देश्यले आएको छ, त्यसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ ।’

विप्लवले यस्ता धम्की दिनुअघि प्रधानमन्त्री दाहालकै नेतृत्वमा पूर्व माओवादी घटकहरुको बैठक बसेको थियो । २६ फागुनको बैठकले शान्ति प्रक्रिया भाँड्न खोजिएको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।

उनीहरुले बालुवाटारमा बैठक गरी राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको भन्दै सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका थिए । त्यस लगत्तै विप्लवका यस्ता धम्की आउनु र सरकार एक शब्द नवोल्नुले प्रधानमन्त्रीकै इसारामा विप्लवले ताण्डव देखाईरहेको कतिपयको विश्लेषण छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विप्लवको प्रतिक्रियालाई ‘सर्वोच्चको आदेशबाट उत्पन्न आशंकामाथिको प्रतिक्रिया’ भन्दै टिप्पणी गर्नुले पनि त्यसलाई पुष्टि गर्ने उनीहरुको भनाई छ।

विशेष