News

चितवन २ मा को–को छन रवि लामिछानेलाई टक्कर दिने उम्मेदवार ?

चितवन २ मा को–को छन रवि लामिछानेलाई टक्कर दिने उम्मेदवार ?

रवि लामिछानेको सांसद पद गुमेपछि रिक्त भएको चितवन २ मा १० बैशाखमा उपनिर्वाचन हुँदैछ । नागरिकतासम्बन्धी मुद्दामा सवोच्च अदालतले लामिछाने लामिछानेको पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति २० चैतलाई निर्धारण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन् । उनी रास्वपाबाट निर्विकल्प उम्मेदवार हुन् । अन्य दलमा पनि आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त लामिछाने फेरि संसद प्रवेशका लागि चितवनमा चुनावी अभियान छन् । उनी पछिल्लो समय पार्टीका नेताहरुलाई साथ लिएर चितवनमै सक्रिय छन् । तर, मंसिर ४ को निर्वाचनमा लामिछानेसँग पराजित कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलले चुनाव नलड्ने जानकारी पार्टी नेतृत्वलाई गराएपछि अन्य उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन।

चितवन २ लाई एमालेको प्रभाव क्षेत्र मानिन्छ । तर, रास्वपा सभापति लामिछानेको प्रवेशले यसअघि दुवैपटक जितेका एमालेका पोखरेल हार व्यहोर्न बाध्य भएका थिए । हाल यस क्षेत्रमा कांग्रेसबाट चितवन सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठ मुख्य दावेदार छन् । कांग्रेसबाट अर्थशास्त्री स्वर्णिम वाग्लेको चर्चा भए पनि उनको सम्भावना कम छ ।

उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन गरिसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेसको उम्मेदवारले सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको पनि साथ पाउने पक्का छ । सात दलीय गठबन्धन भत्किनुअघि एमालेका नेताहरुले रास्वपा सभापति लामिछानेलाई सघाउने संकेत गरेका थिए । तर, अहिले राजनीतिक समीकरण फेरिएपछि एमालेले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।

एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान मेयर गोपी श्रेष्ठको नाम चर्चामा छ । प्रदेश कमिटी सदस्य भट्टराई पोल्ट्री व्यवसायी पनि हुन् ।

यस्तै राष्ट्रिय जनमोर्चाले भने पार्टी उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ । अन्य दलले यहाँ उम्मेदवारको घोषणा गरेका छैनन् ।

चितवन २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । लामिछानेको लोकप्रियताकै कारण २०७९ को निर्वाचनको प्रत्यक्षतर्फ मात्रै होइन समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बनेको थियो । समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत ल्याएको थियो ।

यो क्षेत्रमा २०७० र २०७४ सालको निर्वाचनमा एमालेका पोखरेल निर्वाचित भएका थिए । 

रवि लामिछाने

विशेष