News अपराध सुरक्षा

१० दिनपछि नेपाल प्रहरीले पाउने छ नयाँ नेतृत्व, यी हुन प्रतिस्पर्धी

१० दिनपछि नेपाल प्रहरीले पाउने छ नयाँ नेतृत्व, यी हुन प्रतिस्पर्धी

सरकारले तत्काल ३० वर्षे सेवा अवधि नहटाउने भएपछि अबको १० दिनपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने भएको छ। ३० वर्ष सेवा अवधि कायम राखेरै आईजीपी छनौट गर्ने प्रकृया अघि वढेकाले आईजिपी धिरजप्रताप सिंहले निरन्तरता पाउने सम्भावना कम छ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी नियमावली संशोधनका लागि राय माग्दै अर्थ मन्त्रालयमा फाइल पठाई सकेका छन्। अर्थ मन्त्रालयको पनि जिम्मेवारी दाहालसँगै छ। केही दिन सरकार विस्तारको सम्भावना अझै नभएकाले तत्काल अर्थ र गृहमा नयाँ मन्त्री आउने सम्भावना कम छ।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ गतेदेखि ३० वर्षे सेवाअवधिको प्रावधानकै कारण अनिवार्य अवकाशमा जाने निश्चित भएपछि उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजीपी बन्नेछन्। 

सरकारले बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको छ। अहिलेसम्म बढुवा सिफारिस विरुद्ध कुनै उजुरी नपरेकाले अबको केही दिनमै उनीहरुले एआईजीको दर्ज्यानी चिह्न लगाउनेछन्।

एआईजी भएको एक सातामै उनीहरुमध्येबाट एक जना नेपाल प्रहरीको ३०औं आईजीपी बन्नेछन्। पहिलो नम्बरमा बढुवा भएका कुँवर हाल मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन्

दोस्रो नम्बरमा बढुवा भएका राई लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन्। ३० वर्षे प्रहरी सेवा अवधिको दुई तिहाइ अर्थात् २० वर्षभन्दा बढी राईले बिना बर्दी काम गरेका छन्। राईसँग आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान छ। एसएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका राई केन्द्रीय प्रवक्ता भएर समेत काम गरेका छन्। उनी हाल लुम्बिनी प्रदेश प्रमुखको रुपमा कार्यरत छन्।

तेस्रो नम्बर बढुवा भएका थापा हाल बागमती प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। अहिले एआईजी बढुवा सिफारिस भएकाहरु भन्दा ६ महिनापछि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी पनि आईजीपी हुने दौडमा अघि नै छन्। अहिले आईजी नभएको अवस्थामा पनि थापाको आईजीपी हुने सम्भावना भने कायमै रहन्छ।

अहिले एआईजीमा बढुवा भएका चार जना २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। एकै पटकको आवेदन भए पनि थापासहितका केही प्रहरी अधिकारीलाई भने ६ महिनापछि नियुक्ति दिइएको थियो। जसकारण अहिले आईजीपी नभए पनि थापाको आईजीपी बन्ने सम्भावना कायमै रहन्छ। 

चौथो स्थानमा बढुवा भएका ज्ञवाली पनि आईजीको प्रतिस्पर्धामा छन्। कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका ज्ञवाली कमाण्ड कन्ट्रोलमा राम्रो मानिन्छन्। एसएसपी हुँदा जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमा समेत ज्ञवालीले काम गरेका थिए। डीआईजी भएपछि कोशी प्रदेश प्रमुख हुनभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा ज्ञवालीले काम गरेका थिए। 

एसपी हुँदा रुपन्देही जिल्लाको कमाण्ड गर्नुका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर समेत काम गरेको अनुभव ज्ञवालीसँग छ। ज्ञवाली आईजीपी भएको अवस्थामा नेपाल प्रहरीको इतिहासमा सहोदर दाजुभाइ नै आईजी भएको पहिलो घटना हुनेछ। यसअघि ज्ञवालीका सहोदर दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको आईजीपी भइसकेका छन्। 

पाँचौ नम्बरमा बढुवा सिफारिस भएकी बज्राचार्य पनि नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आईजीको प्रतिस्पर्धामा गर्ने महिला प्रहरी बनेकी छिन्। यदि उनी आईजीपी बनेको अवस्थामा नेपाल प्रहरीको इतिहासमा पहिलो महिला आईजीपी हुनेछिन्। 

नेपाल प्रहरी प्रहरी महानिरीक्षक आईजीपी

विशेष