News

राष्ट्रपति र उपराष्ट्रपति दुवै ‘राम’: मर्यादा पुरुसोत्तम राम बन्नेकी झल्लुराम ?

राष्ट्रपति र उपराष्ट्रपति दुवै ‘राम’: मर्यादा पुरुसोत्तम राम बन्नेकी झल्लुराम ?

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी भएसँगै मुलुकमा राष्ट्रपति र उपराष्ट्रपति दुवै ‘राम’ निर्वाचित भएको छ। २५ फागुनमा राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका थिए।

तनहुँका ७८ वर्षीय ‘राम’ र बाराका ५२ वर्षीय ‘राम’ दुवै पुरुष हुन् तर, मर्यादा पुरुष हुने हुन् वा ‘झल्लुराम’ हुने हुन त्यो भने हेर्न बाँकी छ। अनि ‘सेरेमोनियल’ भएपनि प्रमुख पदमा रहेका यिनको ‘रामराज्य’मा जनताले सास्ती पाउने वा सास्तीमुक्त हुने त्यसको परीक्षा आजैबाट सुरु हुनेछ।

रामचन्द्रले निर्वाचित भएको १६ घण्टा नबित्दै पशुपति र गुह्येश्वरी मन्दिर दर्शन गर्न जाँदा जनतालाई सडकमा सास्ती दिएको भन्दै आलोचित हुनुपरेको थियो । यात्रुले सडकमै हर्न वजाएर उनको विरोध गरेका थिए। उनले शपथ नखाँदै तामझामसहित पशुपति, गुह्येश्वरी, सुन्दरीजल, स्वयम्भू, पुष्पलाल पार्क र बाडेगाउँको स्व.कृष्णप्रसाद भट्टराई आश्रम पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहणसँगै पदभार ग्रहण गरिसकेका छन्। उनी शितलनिवास प्रवेश गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बाहिरिएकी थिइन्। तर, उपराष्ट्रपतिमा रामसहाय निर्वाचित नहुँदै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले बहादुर भवन छाडिसकेका छन्।

नेपाली कांग्रेसको राजनीतिबाट उदाएका रामचन्द्र पार्टीको महामन्त्री हुँदै उपसभापति अनि सरकारमा पटक–पटक मन्त्री र एकपटक सभामुख भएका थिए । उनी १६ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका थिए । पञ्चायतकालमा पटक–पटक गरी १४ वर्ष जेल बसेका थिए।

यता, मधेसको राजनीतिबाट उदाएका रामसहाय एकपटक संविधानसभा सदस्य र दुईपटक प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्। उनी पार्टीमा दुईपटक महासचिव भएका र १९ वर्षको उमेरमा राजनीति सुरु गरेका व्यक्ति हुन्।

शिक्षण पेसाबाट सामाजिक सेवा र मधेशका नागरिकको हक हितको क्षेत्रमा काम गर्न थालेका उनी मधेश आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा होमिए । ०६४ मा शिक्षक पेसा छोडेर पूर्णकालीन राजनीतिमा आएका उनी पार्टीको महासचिवसम्म भए । 

बाराको बसबरिया गाउँमा बुवा प्रसादराय यादव र आमा सिहवादेवी यादवको कोखबाट ०२७ सालमा जन्मेका उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट गणितमा बीएड गरे, भारतबाट गणित र विज्ञानमा बीएस्सी गरे । पढाई पूरा भएपछि गणित र विज्ञान पढाउन थालेका उनले करिब १७ वर्ष शिक्षण गरे । 

तत्कालिन नेपाल सद्भावना पार्टीको नेपाल शिक्षक मञ्चमा आवद्ध भएका उनी मञ्चको केन्द्रीय कोषाध्यक्षसम्म भए । शिक्षण पेसामा हुँदा नै मधेशका नागरिकको अधिकारका लागि सडक संघर्ष र आन्दोलनको नेतृत्व गरेका उनी ०५७ सालमा आन्दोलनका क्रममै गिरफ्तार समेत भए ।

०५९ सालमा उनी उपेन्द्र यादवको मधेशी जनअधिकार फोरममा आवद्ध भए । ०६० सालमा भूमिगत अवस्थामै उनी मधेशी जनअधिकार फोरम बाराको जिल्ला अध्यक्ष भए, त्यसबेला उनी नेतृत्वमा ७ सदस्यीय कार्यसमिति बनेको थियो ।

०६४ मा संविधानसभा सदस्य बनेका रामसहायको नाम ०७० मा पनि समानुपातिक बन्दसूचीमा अटाएको थियो । तर, उनी निर्वाचित भने भएनन् । ०७४ मा भने उनी बारा–२ बाट उम्मेदवार बनेर निर्वाचित भए ।

०७८ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भए । यसपटक बारा–२ मै दोहोरिएर निर्वाचित भए। 

यो सँगै दुवै रामले ‘सेरेमोनियल’ पद रोजेपछि यिनको निर्वाचन क्षेत्र क्रमशः तनहुँ १ र बारा २ मा अर्का उम्मेदवारको भाग्य खुल्नेछ। यी दुवै निर्वाचन क्षेत्रमा उपनिर्वाचनमार्फत नयाँ सांसद आउनेछन्।

‘राम’ को उत्तराधिकारी बनेर तनहुँबाट कांग्रेसका गोविन्द भट्टराई र बाराबाट जसपा अध्यक्ष उपेन्द्र यादव आफैं संसद् छिर्ने तयारीमा रहेको चर्चा छ। 

राष्ट्रपति उपराष्ट्रपति

विशेष