News

रविको दोहोरो राहदानी प्रकरणमा प्रहरीको दावीः झुटो विवरण पेश गरेको पुष्टि हुदैन

रविको दोहोरो राहदानी प्रकरणमा प्रहरीको दावीः झुटो विवरण पेश गरेको पुष्टि हुदैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई दोहोरो राहदानी प्रकरणमा प्रहरीले उन्मुक्ति दिने प्रयास गरेको छ। प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा वुझाएको प्रतिवेदनमा लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने तर्क गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि मात्रै सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ ।

कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) को रायसहितको फाइल महान्यायाधीवक्ता समक्ष पेश हुन्छ र महान्यायाधिवक्ताको निर्णय अन्तिम हुन्छ ।

लामिछानले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकता प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे ।

अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली राहदानी लिए । लामिछाने नेपाल फर्कंदा अमेरिकाको नागरिकता त्यागेका थिएनन् ।

१३ माघ २०७९ मा सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेको थियो । पुरानै नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा रविले अमेरिकाबाट नेपाल फर्किएपछि लिएको राहदानी नयाँ नभई पहिलेकै निरन्तरता भएको तर्क गरिएको छ। यसैगरी, कायम नभएको नेपाली नागरिकताको विवरणका आधारमा रविले दोस्रो राहदानी लिएको भए पनि त्यसलाई झुटो विवरण मान्न नसकिने प्रहरीको निष्कर्ष छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रविले अमेरिकाको नागरिकता लिएपनि आफ्नो साथमा रहेको र कायम नभएको पुरानो नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरिरहेका थिए । उनले निर्वाचनमा प्रतिस्पर्धा गर्दा समेत त्यही प्रयोग गरेका थिए ।

रवि लामिछाने

विशेष