News खेल

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् ।

आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् । दाहालले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए । अहिले फेरि यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल टिमले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गरेका हुन् ।

जस अनुसार अब खेलाडीले गत महिनाको घोषित र अहिले घोषित गरी ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

सरकारले खेलाडी लागि पुरस्कार दिन  खेलकुद पुरस्कार कार्यविधि बनाएको भए पनि त्यो कार्यविधिले यो प्रतियोगिता नसमेट्ने भएका कारण प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्नु परेको घिसिङले स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषदलाई  निर्देशन पनि दिएका छन् ।

नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको छ।
नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो । जसमा घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै क्लिन स्वीप गरेको थियो भने यूएईमा भएको शृंखलाका चारमध्ये तीन खेल जितेको थियो ।

लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पार्दै तेस्रो भएको नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । १० टिमले खेल्ने क्वालिफायरबाट शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टू

विशेष