News खेल

टिम नेपालः एक महिनाभित्र १२ मध्ये ११ खेलमा जित, एकपछि अर्को किर्तिमान

टिम नेपालः एक महिनाभित्र १२ मध्ये ११ खेलमा जित, एकपछि अर्को किर्तिमान

नेपाली क्रिकेट टिमले एक महिनामै आफनो प्रदर्शनलाई अविश्वसनिय सुधार गरेको छ। नेपालले लिग–२ का पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेको छ। 

एक महिनामा लिग–२ को अंक तालिकाको छैटौं स्थानबाट नेपाल तेस्रो स्थानमा उक्लिएको छ। नेपालले अघिल्लो महिना १८ अंक मात्र  थियो। तर एक महिनाका १२ मध्ये ११ खेल जितेसँगै नेपालले ४० अंक जोडेर शानदार पुनरागमन गरेको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईमाथि डिएल मेथडमा ९ रनको जित निकालेपछि नेपाल आइसिसी विश्वकप छनोटमा समेत पुगेको छ। नेपालले अघिल्ला दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको थियो। यति मात्र होईन, नेपालीहरुले एकपछि अर्को किर्तिमान समेत वनाएका छन्। 

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो। आइसिसी लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्ने प्रावधान अनुसार नेपाल विश्वकप छनोटमा पुगेको हो। 

यो जितसँगै नामिबियालाई पछि पार्दै नेपाल लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। नेपालले ३६ खेलबाट ४० अंक जोडेको छ भने नामिबियाको ३९ अंक मात्र छ। नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ।

१० टिमबीच आमागी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपाल पुगेका छन्। यस्तै आयोजक जिम्बावे र नेदरल्यान्ड्सले पनि छनोट खेल्नेछन्। टेस्ट राष्ट्रले खेल्ने आइसिसी सुपर लिगबाट थप तीन राष्ट्रले विश्वकप छनोट खेल्नु पर्नेछ। 

अहिलेको अवस्थामा सुपर लिगको शीर्ष आठ भित्र नरहेका दक्षिण अफ्रिका, श्रीलंका र  वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु पर्नेछ। विश्वकप छनोटमा क्वालिफायर प्लेअफमा दुई टिम पनि पुग्नेछन्। यसरी १० टिमबीच हुने छनोटबाट दुई टिम भारतमा अक्टोबरमा हुने विश्वकपमा पुग्नेछन्। 

विश्वकपमा सुपर लिगमा ८ टिम र विश्वकप छनोटका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार कीर्तिपुर मैदानमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएको स्थितिमा खेल प्रकासका कारण रोकिएको थियो। त्यति बेला नेपालका लागि गुलशन झाले नटआउट ५० रन र दीपेन्द्रसिंह ऐरीले १० रन बनाएर खेलिरहेका थिए।

तर अम्पायरले प्रकाशका कारण खेल रोकेपछि खेल नेपालले डिएल मेथडमा ९ रनले जित्यो। युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराव सुरुवात गरेको थियो। तर, चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपालले उत्कृष्ट जित निकाल्यो। नेपालका लागि गुलशनसँगै कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले अर्धशतक बनाएका थिए।

खेलमा नेपालले तेस्रो बलमा आसिफ शेखलाई शून्यमा गुमाएको थियो। तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै आउट भएपछि नेपाल सुरूमै दबाबमा परेको थियो। त्यसपछि रोहित पौडेल १६ रन जोडेर आउट भए। रोहित सातौं ओभरको पाँचौ बलमा आउट हुँदा नेपालले ३ विकेट गुमाउँदा ३७ रन जोडेको थियो। 

त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे। कुशल ५० रन जोडेर आउट भएका थिए। उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। 

कुशल आउट भएपछि भीमले आरिफ शेखसँग अर्को उत्कृष्ट साझेदारी गरे। भीमले आउट हुनुअघि ६७ रन जोडेका थिए। उनले ७६ बलमा ९ चौका हिर्काए। उनले पाँचौ विकेटका लागि आरिफसँग ८३ रनको साझेदारी गर्दै नेपालको आसा पलाएको थियो। भीम ३१ ओभरको अन्तिम बलमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोडेको थियो। 

आरिफ शेखले पनि अर्धशतक बनाएपछि नेपालले विस्तारै खेल आफ्नो पक्षमा परेको थियो। आरिफले जुनइद खानको एलबिडब्लूको धरापमा पर्नुअघि ५२ रन जोडे। आरिफले ६२ बलमा २ चौका हिर्काए। नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए। 

यो पनि,

आइसिसी विश्वकप क्रिकेट लिग–२

विशेष