राष्ट्रपति निर्वाचनमा मुख लागेका गगनलाई उपराष्ट्रपति निर्वाचनमा ओलीको जवाफ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘एमालेसँग मिल्न ०८४ सालभन्दा अगाडि सम्भव छैन’ भनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ फर्काएका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर बाहिरिने क्रममा ओलीले कांग्रेसलाई प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनु नपर्ने वताए । ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुप¥यो ?’ उनले भने–‘त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’
यसअघि फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै कांग्रेस महामन्त्री थापाले ओलीलाई जवाफ फर्काउँदै २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए । त्यसको जवाफ आज ओलीले फर्काएका हुन् ।
उनले डोमोक्रेटिक सिस्टममा हारजित हुने कुरा स्वाभाविक भएको बताए । ‘अहिले साँठगाँठको सिस्टम भयो । यसमा कसले जित्यो कसले हा¥यो ? कसको शक्ति कति भन्ने नै भएन ?’ उनले भने–‘अहिले त जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब हुन्छ ।’
उनले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताए । आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको भनाई छ ।