News

‘विद्या’लक्ष्मीका कारण सधै ठगिएकी ‘अष्टलक्ष्मी’: ओली वैमान हुँदा देखिएन ‘भाग्यलक्ष्मी’ को प्रभाव

‘विद्या’लक्ष्मीका कारण सधै ठगिएकी ‘अष्टलक्ष्मी’: ओली वैमान हुँदा देखिएन ‘भाग्यलक्ष्मी’ को प्रभाव

३ चैतमा सम्पन्न भएको निर्वाचनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचन भए। उनले नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गरे।

विजयी यादवले ३० हजार ३ सय २८ मतभार पाउँदा शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन। ममता झाले २ हजार ५ सय ३७ र उम्मेदवारी निष्क्रिय पारेकी जनता समाजवादी पार्टीकै प्रमिलाकुमारी यादवले ४८ मत प्राप्त गरेकी छन्। 

उपराष्ट्रपति पदमा वरिष्ठ एमाले नेतृ शाक्यको यो दोस्रो पराजय हो। यसअघि ४ साउन २०६५ मा भएको पहिलो निर्वाचनमा पनि उनी पराजित भएकी थिइन्। उनले राजनीतिमा पाएको हैरानी हेर्दा उनको नाम अनुसारको काम देखिएको छैन।

अष्टलक्ष्मीको अर्थ लक्ष्मीका ९ रुप हो। आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, वीरलक्ष्मी, भाग्य लक्ष्मी, विजयलक्ष्मी, विद्यालक्ष्मी। तर, उनको राजनीतिक जीवनमा यी कुनै पनि नामको प्रभाव देखिएको छैन।

एमालेले तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई जित सुनिश्चित भएको बेला दुई–दुई पटक राष्ट्रपतिको उम्मेदवार बनाएको थियो। तर, एमाले राजनीतिमा सहाना प्रधानपछिकी वरिष्ठ महिला नेतृ शाक्यलाई भने हार पक्का भएका बेला दुई–दुई पटक उम्मेदवार बनाइयो। 

२०६५ मा आफ्नै उम्मेदवार शाक्यलाई एक मत समेत नदिई एमालेले उनलाई हाँसोको पात्र बनाएको थियो। पहिलो राष्ट्रपति निर्वाचनमा माओवादीसँग कुरा मिल्न नसकेपछि एमालेले राष्ट्रपतिमा राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष रामप्रीत पासवानलाई र उपराष्ट्रपतिमा शाक्यलाई प्रतिस्पर्धी बनाएको थियो।

एमाले राजनीतिमा पासवानभन्दा सिनियर शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकोमा एमाले नेतृत्वको आलोचना समेत भएको थियो। कनिष्ठ नेतालाई राष्ट्रपति र शाक्यजस्ती वरिष्ठ नेतृलाई उपराष्ट्रपतिमा खडा गरेको एमालेले त्यो उम्मेदवारी पनि अन्त्यसम्म रहन दिएन। उम्मेदवार दिन लगाएर निष्क्रिय पारिएकोमा पासवान र शाक्य दुवै नेतृत्वप्रति असन्तुष्ट समेत थिए।

राष्ट्रपति नपाएपछि माओवादीसँगको गठबन्धन तोड्न पुगेको एमालेले राष्ट्रपति–उपराष्ट्रपतिमा क्रमशः नेपाली कांग्रेस र तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवारलाई सघाएको थियो।  

कांग्रेस र फोरमसँग गठबन्धन गरे पनि एमालेबाट राष्ट्रपतिका उम्मेदवार पासवान र उपराष्ट्रपतिकी उम्मेदवार शाक्यको उम्मेदवारी भने कायमै थियो। यसले गर्दा आफ्नै पार्टीका उम्मेदवारद्वय पासवान र शाक्य दुवैले शून्य मत प्राप्त गरे। 

दोस्रो राष्ट्रपति निर्वाचनमा तत्कालीन एमाओवादी, राप्रपा लगायतका दलहरुले समर्थन गरेकाले एमाले उम्मेदवारले विजय हासिल गर्ने पक्का थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले विजय सुनिश्चित भएका बेला शाक्यलाई होइन, विद्या भण्डारीलाई राष्ट्रपतिमा अघि सारे। विजय अझ बढी सुनिश्चित भएको २०७४ को निर्वाचनमा पनि भण्डारी नै दोहोरिइन्। 

यसपटकको राष्ट्रपति निर्वाचन (२५ फागुन) मा एमाले जसरी एक्लियो र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति भारी मतका साथ विजयी भए, उपराष्ट्रपति निर्वाचनको परिणाम पनि त्यस्तै हुने पक्का थियो।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले हार पक्का रहेको उपराष्ट्रपतिमा शाक्यलाई नै अघि सारे। शाक्य पराजित भइन्। अवसरका बेला आफ्नै पार्टीबाट उनी अन्यायमा पर्दै आएकी छिन्। 

माधव नेपाल खेमामा रहेकी शाक्यले पार्टी विभाजनका बेला भने नेपाललाई साथ दिइनन्। शाक्यजस्ती एमालेकी वरिष्ठतम् नेतृ– जो निष्ठापूर्वक पार्टी राजनीतिमा लागिरहे पनि सदैव अन्यायको भागिदार बनिरहिन्। 

अष्टलक्ष्मी शाक्य

विशेष