प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता, विराटनगरमा निषेधाज्ञा
प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक छन् । सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए ।
प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदको प्रस्तावमा दुई जना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।
सभामुख गौतमले दिउँसो १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका हुन् । पहिलो प्रदेशसभाले थाति राखेर गएको प्रदेश १ को नामकरण बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम नामकरण प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यबस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
यता, प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ ।