News अपराध सुरक्षा

पृथ्वीबहादुर शाह र उनको समूहले २९ लाख अमेरिकी डलर ठगी गरेको सिआईवीको निस्कर्ष

पृथ्वीबहादुर शाह र उनको समूहले २९ लाख अमेरिकी डलर ठगी गरेको सिआईवीको निस्कर्ष

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अछामका व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ । सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर शाहविरुद्धको अनुसन्धान सकिएको जानकारी दिएको हो। 

शाहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध शीर्षकका चारवटा कसुरमा मुद्दा अघि बढाउन लागिएको छ। सीआईबीले दिएको जानकारी अनुसार शाहविरुद्ध उनीबाट पीडित भएकाहरुले २४ वटा उजुरी हालेका थिए। यद्यपी पीडित भएकाहरुको संख्या ५६ रहेको खुलेको छ।

शाहसँगै यी अपराधमा अन्य  २० जना संलग्न रहेको पाइएको सीआईबीले जनाएको छ। जसमध्ये अहिलेसम्म ७ जनालाई पक्राउ गरिएको छ भने भने १३ जना अझै फरार छन्। पृथ्वीबहादुर र भाइ विजयविक्रम शाहले मिलेर संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्धेश्यले २४ भन्दा बढी कम्पनीहरु स्थापना गरेको पनि सीआईबीले फेला पारेको छ।

तर ती कम्पनीलाई विदेशी मुद्रा अवैध रुपमा भित्र्याउने थलोका रुपमा प्रयोग गरेको खुलेको छ। ‘ती कम्पनीको उद्धेश्यविपरीत आधिकारिक निकायबाट अनुमति नलिइ विदेशी लगानी भित्र्याएको पनि पाइएको छ’, सीआईबीले भनेको छ, ‘शाहले विदेशी नागरिकहरुलाई एन्टीभाइरस अपडेट र अमाजोनको बिल भुक्तानी लगायतका बहानामा विदेशी नागरिकहरुसँग सम्पर्क गरेको खुलेको छ।’

शाहले त्यसपछि रिमोट एक्सेसबाट उनीहरुको डिभाइसमा गैरकानुनी पहुँच बनाएर बैंक एकाउन्टमा पहुँच पु¥याइ उक्त रकम नेपाल र थाइल्यान्डसमेत पठाउने गरेको सीआईबीले जनाएको छ। शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको  पनि सीआईबीले जनाएको छ ।

त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको, उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्ने गरेको सीआईबीले अनुसन्धानबाट खुलेको छ ।

उनले त्यस क्रममा २४ जना पीडितहरुबाट २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठग्न सफल भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ। त्यसैगरी उनले ठगी गरेर स्विफ्टमार्फत नेपालमा ४५ लाख ४६ हजार ६३९ रुपैयाँ नेपाल पठाएको पनि सीआईबीले पत्ता लगाएको छ।

पृथ्वीबहादुर शाह

विशेष