सार्वजनिक रुपमा माफि माग्न मेयर हर्क साम्पाङलाई २४ घण्टे अल्टिमेटम

स्वकिय सचिव मार्फत वडाध्यक्षहरूलाई निर्देशन जारी गरेपछि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ फेरि विवादमा परेका छन्।
स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गराएको विषयलाई वडाध्यक्षहरूले आफ्नो अपमान भएको ठहर गर्दै मोर्चावन्दी गरेपछि साम्पाङ विवादमा परेका हुन।
वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर उक्त गल्तीप्रति सार्वजनिक रूपमा माफी माग्न मेयर साम्पाङलाई २४ घन्टे अल्टिमेटम दिएका छन्।
‘मेयर हर्क साम्पाङले निरन्तर हाम्रो मानमर्दन गर्ने र अशोभनीय व्यहार गरे,’ उनीहरूले भनेका छन्, ‘योग्यतासमेत नरहेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बूले लेटरप्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरूलाई निर्देशन दिएको घटना आपत्तिजनक छ।’
केही दिनअघि स्वकीय सचिव लिम्बूले मेयरको आदेश भन्दै वडाध्यक्षहरूलाई योजना पेश गर्न निर्देशनात्मक पत्राचार गरेका थिए। वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मेयर साम्पाङ मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चल्न खोजेको पनि आरोप लगाएका छन्।
वडा नं. १० का वडाध्यक्ष विवेक राईलाई झुटो आरोप लगाएर स्पष्टीकरण सोधेको भन्दै उनीहरूले मेयर साम्पाङले आत्मालोचना गरी सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
दशकभन्दा लामो समयदेखि धरानमा सामाजिक अभियान चलाएका साम्पाङ मेयरमा निर्वाचित भएपछि निरन्तर विवादमा पर्दै आएका छन्। कहिले दलितविरोधी अभिव्यक्तिका कारण अनि कहिले सामाजिक सन्जालमा जथाभावी लेख्दै र बोल्दै गरेर पनि उनी विवादमा तानिएका छन्।
हर्क साम्पाङ