News कभर स्टोरी पर्यटन प्रदेश ५

मर्दी हिमाल पुग्ने नेपाली पर्यटक बढे, बाटोमा फोहोर पनि बढ्यो 

मर्दी हिमाल पुग्ने नेपाली पर्यटक बढे, बाटोमा फोहोर पनि बढ्यो 

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको यो पदमार्गअन्तर्गत रुटमा प्लास्टिकजन्य फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि पर्यटन व्यवसायीको टाउको दुखाइको विषय बनेको छ ।

बाह्य पर्यटकको तुलनामा नेपाली पर्यटकले जथाभाबी फोहोर फाल्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।  अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मर्दी हिमाल पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको लागि लोकप्रिय छ । कास्कीको पितम देउराली देखि मर्दी हिमाल बेस क्याम्मसम्म रहेको यो पदमार्गमा आन्तरिक पर्यटक ओहोरदोहोर गर्छन् । 

आन्तरिक पर्यटकको वृद्धि भएसँगै पर्यटन व्यवसायी उत्साहित मात्रै छैनन् उनीहरूको फोहोर बानीले दुखित पनि छन् । नेपाली पर्यटक धेरै पढेलेखेका र धनाढ्य नै भए पनि बानी भने नसुध्रिएको मर्दी पदमार्गअन्तर्गत पितम देउरालीमा होटेल सञ्चालन गरिरहेका व्यवसायी हरिमान गुरुङ बताउँछन् ।  ‘नेपालमा आन्तरिक पर्यटनको सम्भावना राम्रो छ । हामीले अरू देशका पर्यटकमा मात्रै भर पर्नु हुँदैन । तर नेपाली पर्यटकहरूमा वातावरण सफा राख्नु पर्छ भन्ने चेतना छैन, व्यवसायी गुरुङ भन्छन्, ‘करोडौँका गाडी चढेर आउँनेहरु पनि चाउचाउका खोल र पानीका रित्ता बोतल झ्यालबाट फाल्छन् ।’   

बाह्य पर्यटक फोहोर व्यवस्थापनमा सभ्य भएको गुरुङको अनुभव छ । उनीहरू पदमार्गमा जथाभाबी प्लास्टिक, बोतल नफाल्ने गुरुङ सुनाउँछन् । ‘अन्य देशको पर्यटकहरूले तोकिएको ठाउँमा मात्रै प्लास्टिकजन्य फोहोर फाल्छन् । फोहोर फाल्ने ठाउँ नभए झोलामै बोकेर हिँड्छन् । उनीहरूमा वातावरण जोगाउन पर्छ भन्ने चिन्ता छ । तर, नेपालीहरूमा अझै चेतनाको अभाव छ’, गुरुङले भने । 

(पर्यटन व्यवसायी हरिमान गुरुङ)

मर्दी हिमाल पदमार्गमा अहिले स्थानीय होटेल व्यवसायी जम्मा भएर फोहोर सङ्कलन गर्ने काम गरिरहेका छन् । होटेल व्यावसायिकै पहलमा ठाउँ ठाउँमा डस्टविन राख्ने र जनचेतनामूलक सूचनावोर्ड राख्नका लागि पहल भइरहेको अर्का होटेल व्यवसायीले जानकारी दिए । स्थानीय सरकार वा अन्य कुनै निकायले फोहोर व्यवस्थापनको लागि कुनै कदम नचालेको होटेल व्यवसायिहरुको गुनासो छ । पदमार्गमा फोहोर राख्नको लागि कुनै व्यवस्थापन नभएको एक जना टुर गाइड रेसम मगरले बताए  ।

आन्तरिक पर्यटक मर्दी हिमाल फोहोर बढ्यो

विशेष