News खेल

महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गर्दा एन्फा बैठकमा हात हालाहाल

महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गर्दा एन्फा बैठकमा हात हालाहाल

अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबारको कार्यसमिति बैठकमा तनाव सिर्जना हुँदा हात हालाहाल भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बैठक वसेको थियो।

बिहान आठ बजेका लागि बोलाइएको कार्यसमिति बैठक साढे १० बजे मात्र सुरू भएको थियो । बैठकमा १९ वटा एजेण्डा राखिएको थियो। तर, तीन उपाध्यक्षसहित १२ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्तीसहित ६ वटा एजेण्डा थप गर्न माग गरे।

एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले प्रस्ताव विधानसम्मत नभएको भन्दै एजेन्डा थप्न मानेनन। उपाध्यक्ष दिपक खतिवडाले बहुमत सदस्यले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका कारण उनीहरू बैठकमा बस्न नमिल्ने भन्दै अध्यक्षसँग उनीहरुलाई बाहिर निकाल्न भने। अध्यक्ष नेम्वाङले खतिवडाको कुरा मानेनन्।

त्यसपछि बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर गरेनन् । तर पनि अध्यक्षले बैठक निरन्तरता दिन लागेपछि असन्तुष्ट पक्षले बैठक बैधानिक नभएको भन्दै विरोध गरे। उपाध्यक्ष खतिवडाले बैठक बस्न नमिल्ने भन्दै टेबल ठोकेपछि सदस्य पुरुषोत्तम थापाले टेबल नै पल्टाइदिएका थिए । 

उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) र दावा लामाबीच पनि धकालाधकेल भयो। त्यसपछि बैठक स्थगित भएको छ । त्यस्तै उपस्थितिमा हस्ताक्षर गरेका टिका लामाले पनि पछि आजको बैठकले गरेको कुनै पनि निर्णय मान्य नहुने भन्दै निवेदन दिएर निस्किएका छन् ।
 

विशेष