News

सरकारमा जान कांग्रेसका शिर्ष नेता नै तँछाड मँछाड, यस्तो छ मन्त्री बन्ने मापदण्ड

सरकारमा जान कांग्रेसका शिर्ष नेता नै तँछाड मँछाड, यस्तो छ मन्त्री बन्ने मापदण्ड

सरकारमा जान तँछाड मँछाड सुरु भएपछि नेपाली कांग्रेसले पार्टीबाट सरकारमा मन्त्री पठाउन मापदण्ड तोकेको छ। 

आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मिलाएर पठाउने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेक सबै शीर्ष नेताहरू सरकारमा जान हारालुछ गर्न थालेपछि मापदण्ड तोकिएको एक नेताले वताए । 

प्रधानमन्त्रीले पुष्पकमल दाहालले विश्वासको मत दिएपछि सरकारमा जाने कांग्रेसले निर्णय गरेको छ। कांग्रेसबाट अहिले उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङसहित अधिकांश शीर्ष नेताहरू सरकारमा जाने पक्षमा छन्।

कांग्रेसबाट सरकारमा जाँदा उपप्रधानमन्त्रीसहित गृह, अर्थ, परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालय पाउने भएकाले शीर्ष नेताहरु नै हौसिएका छन्।

उपसभापति खड्कासहित प्रकाश शरण महत, ज्ञानेन्द्र कार्की, उदय शमशेर जबरा, डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, किशोरसिंह राठोर, बद्री पाण्डे, मोहन बस्नेत, आरजु राणा देउवालगायत शीर्ष नेताहरूको नाम चर्चामा छ।

सत्ता गठबन्धनमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना छ। तर, पार्टीका शीर्ष नेताहरू नै मन्त्रीको दौडमा लागेपछि पार्टी सभापति देउवालाई मिलाउन हम्मे हम्मे पर्ने देखिएको छ। 
 

विशेष