News

प्रचण्डलाई गठबन्धनमा भागबण्डा मिलाउन धौ–धौ, सवैलाई चाहिएको छ उपप्रधानमन्त्री

प्रचण्डलाई गठबन्धनमा भागबण्डा मिलाउन धौ–धौ, सवैलाई चाहिएको छ उपप्रधानमन्त्री

कांग्रेससँग विरक्तिएर एमालेसँग र एमालेसँग विरक्तिएर फेरी कांग्रेससँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पछिल्लो गठबन्धमा पनि प्रधानमन्त्री भएर टिकिरहन ‘फलामको च्युरा चपाउनु’ सरह भएको छ।  दाहाललाई भागवण्डा मिलाउँन धौ धौ छ।

अहिलेको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी छन्। 

गत पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका दाहालले ३० दिनभित्रै विश्वासको मत लिएका थिए। तर बीचमा सत्ता समीकरण परिवर्तन भएर एमाले र राप्रपाले समर्थन फिर्ता लिएका छ।

यसरी सत्ता समीकरण फेरिएर नयाँ समीकरण बनेसँगै कांग्रेसले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरिसकेको छ। कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूको चर्चा परिचर्चा सुरु भइसकेको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिने र संसद्मा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ।

कांग्रेसले १० मन्त्रालय दाबी गरे गरिरहेको छ। तर, कांग्रेसको भागमा ८ ओटा मन्त्रालय देखिएको छ। पार्टीबाट उपप्रधानमन्त्रीसहितको नेतृत्व गरेर जानेहरूको नाममा उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधि र प्रकाशमान सिंह चर्चामा छन्। 

नयाँ सरकार बनेसँगै प्रधानमन्त्री दाहाललाई भने भागवन्डा मिलाउन र वरियताक्रम मिलाउन निकै सकस हुने देखिएको छ। अधिकांश पार्टीले उपप्रधानमन्त्रीसहित पावरफुल मन्त्रालयमा दावी गरिरहेका छन् । उनकै पार्टीका नेता तथा प्रचण्डका विश्वसनीय पात्र अहिलेका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्रचण्डपछिको वरियताक्रममा छन्। कांग्रेस सरकारमा सहभागी हुँदै गर्दा प्रचण्डले मन्त्री श्रेष्ठको वरियता पनि मिलाउनुपर्ने छ। 

कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइराला पनि उपप्रधानसहित पार्टीबाट नेतृत्व गर्ने अवसर आए सहभागी हुने मनसायमा रहेको स्रोतले बताएको छ। यसका साथै अन्य दलका मन्त्रीका आकांक्षी र संख्या मिलाउन पनि प्रधानमन्त्रीले निकै कसरत गर्नुपर्ने देखिन्छ।

यतिबेला कांग्रेसबाट मन्त्री बन्ने प्रारम्भिक सूचीमा समेटिएका नेताहरूमा खड्का, प्रकाशमान सिंहसहित जीवन परियार, एनपी साउद, डा. शशांक कोइराला, किशोरसिंह राठोर, रामहरि खतिवडा, सीता गुरुङ, अजय चौरासिया, रमेश रिजाल, मोहन बस्नेत, प्रदीप पौडेल, डिगबहादुर लिम्बू छन्।

महिलाबाट राज्यमन्त्रीमा सरीता प्रसाईंको नाम चर्चामा छ। पार्टीका दुवै महामन्त्रीहरू गगनथापा र विश्वप्रकाश शर्मा दुवै जनाको समर्थन प्रदीप पौडललाई रहेको बताइएको छ
 

विशेष