News

प्रधानमन्त्रीले प्रतिनिधि सभामा पाए १७२ सांसदको समर्थन

प्रधानमन्त्रीले प्रतिनिधि सभामा पाए १७२ सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनलाई १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका छन भने १ जनाले मत दिएनन् ।

सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्ष र विपक्षामा २६२ सांसदले भाग लिएका थिए ।

१० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही ब्यवस्था अनुसार प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे । 

विशेष