तोडियो सुर्ती ब्यापारीको चक्रब्युहः पत्रकार एन्जिनालाई सफाई

पत्रकार एन्जिना कार्की विरुद्ध परेको ‘आपराधिक लाभ (एक्सटर्सन)’ मुद्दामा जिल्ला अदालत काठमाण्डौंले दाबी नपुग्ने फैसला गरेको छ । जिल्ला अदालत काठमाण्डौंले सोमवार गरेको यो फैसलासँगै कार्कीले सफाइ पाएकी छिन् ।
०७८ पुस १८ गते दर्ता भएर १६ पटक पेशी तोकिएको उक्त मुद्दामा सोमवार जिल्ला न्यायाधिश विनोद खतिवडाको इजलासले अन्तिम फैसला सुनाएको हो।
एन्जिना विरुद्ध सुर्ती ब्यापारी ज्ञानेन्द्र शर्माले मुद्दा दर्ता गरेका थिए। आफुलाई गोर्खा टोबाकोको जेनेरल म्यानेजर बताउने शर्माले एन्जिना विरुद्ध मुद्दा दर्ता गर्दै विभिन्न संचार माद्यममा अन्तरर्वार्ता समेत दिएका थिए। जसका आधारमा एन्जिनालाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले ०७८ मंसिर २२ गते पक्राउ गरेको थियो।
एन्जिनाले आफुसँग १६ लाख रुपैयाँ लिएको र अरु मिडियालाई पनि मिलाउनु पर्छ भन्दै बार्गेनिङ गरेको शर्माले वताएका थिए। एन्जिनाको ग्याङमा सामेल भन्दै न्यूज ट्वान्टी फोर, सगरमाथा टेलिभिजन र नेपाल आज अनलाईका सञ्चालक माधव गुरागाईको नाम लिएर पैसाको वार्गेनिङ्ग गरेको आरोप थियो।
सुर्ती ब्यापारी शर्माले एन्जिनासहितले पत्रकारिताका नाममा ठगी धन्दा चलाएको थाहा पाएपछि आफु प्रहरी समक्ष पुगेको बताए। आफु अनुशन्धानका लागि भारत समेत पुगेका बताएका थिए।
एन्जिनाको ग्याङमा सुदुर पश्चिमतिरको एक जना पत्रकार अझै रहेको उनको भनाई थियो। यस प्रकरणमा प्रहरीले एन्जिना विरुद्ध फौजदारी मुद्दा चलायो। तर, ठग भनेर पक्राउ गराइएकी उनै एन्जिनाले ज्ञानेन्द्र विरुद्ध चेक बाउन्सको मुद्दा चलाएपछि भने घट्नाले अर्को मोड लियो।
सुर्ती ब्यापारी ज्ञानेन्द्र स्वयमले तत्कालिन समयमा उनले लगाएको आरोप गलत भएको पुष्टि गरे। शर्माले अदालतमा वुझाएको प्रतिउत्तरमा ‘आफुले एन्जिनासँग दुई वर्षपछि १६ लाख तिर्ने मौखिक सहमतिमा १० लाख रुपैयाँ लिएको र सोही रकम वुझाउने क्रममा उक्त घट्ना भएको’ वताए।
एकै पटक धेरै रकम वुझाउनु पर्दा मानसिक रुपमा विछिप्त भएको र एन्जिनाले पैसाका लागि दवाव दिने र धम्की दिने गर्न थालेपछि आफु प्रहरीसम्म पुगेको उनले जनाएका छन् । अदालतमा प्रतिउत्तर दिने क्रममा समेत उनले आफनो सहकारीको कारोवारमा केही समस्या देखिएकाले सुनियोजित रुपमा त्यो प्रकरण वाहिर ल्याएको स्विकारेका छन्।
उनले बताएको सहकारी काठमाण्डौं स्थित शिवशिखर सहकारी र विराटनगरको तुलसी वहुउद्देश्शीय सहकारी संस्था रहेको खुलेको छ। शिखर अर्गनाइजेसन ग्रुप र तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् भने सुर्ति ब्यापारी शर्मा त्यसको संचालक रहेको पाईएको छ।
उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । केदारनाथ शर्माकै छोरा काल्स शर्मा उक्त ग्रुपको उपाध्यक्ष छन् भने शर्माकी श्रीमती तुलसी सहकारीमा सचिव छिन्। ‘माडवारीको गल्ला’ शैलीमा सञ्चालन हुने गरेका दुवै सहकारीको कारोवारमा अहिले बचतकर्ताको निक्षेप अपचलन गरेको आरोप छ।
तुलसी सहकारी पुर्ण रुपमा वन्द भएको छ भने अध्यक्ष केदारनाथ शर्मा फरार छन्। केदारनाथकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसी सहकारीमा देखिएको समस्याका विषयमा सिआईबीले अनुसन्धान गर्ने वताईएको छ।
यो पनि,
- अध्यक्ष केदारनाथका श्रीमान–श्रीमतीले यसरी डुबाए तुलसी सहकारी
- पत्रकारको लाखौं रुपैयाँ लिएर नतिर्ने सहकारी कुन हो ?