प्रेमिका प्रयोग गरी अपराधको श्रृंखला बनाएका गिरी जेलबाट छुटे

प्रेमिका प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा पक्राउ परेका अभिषेक गिरी कारागार मुक्त भएका छन्। ०७० सालमा पक्राउ परेका गिरी आईतवार जेलमुक्त भएका हुन।
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई ९ वर्ष कैद सजाय भुक्तान गरेका गिरी मोरङ कारागारबाट मुक्त भएका हुन। उनी त्यहाँका चौकीदार थिए। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा ०७० सालमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।
गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो। रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।
पछिल्लो पटक पक्राउ पर्नुअघि ०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए। ०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए।
पर्शुराम बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे। तर, आफ्नै समूहका एक जनाले घटनाको जिम्मेवारी लिँदै अदालतमा बयान दिएपछि गिरीले ०६९ सालमा सफाइ पाएका थिए।
करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए। काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरणमा योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर त्यहाँबाट पनि उनले अपराध छोडेनन्।
नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।
अभिषेकको अपराध त्यहाँ पनि नरोकिएपछि उनलाई मोरङ कारागार नै पठाउने योजना भयो। तर, मोरङ कारागारले राख्न नमानेपछि गिरीलाई सुनसरीको झुम्कास्थित कारागारमा राखिएको थियो।
त्यहाँ बस्दा पनि अभिषेकले अपराध छोडेनन्। २०६६ साल फागुन महिनामा जेलबाटै मान्छे खटाएर गिरीले पर्शुरामलाई दुई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए। त्यसको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गरे। पर्शुराम समूहले आक्रमण गर्दा गिरी घाइते भएका थिए, अदालतभित्र प्रहरीले गोली चलाएको थियो।
यो पनि,
- खाँणको निर्णय रवि लामिछानेले मानेननः गुण्डानाइके गिरीको मोरङबाट सरुवा
- कैदीवन्दी पनि राजनीतिक विचारधाराका आधारमा सरुवा, गिरीलाई मोरङ पुर्याइयो
- विराटनगरमा गुण्डागर्दीलाई संस्थागत गर्न अभिषेक गिरीलाई मोरङ कारागार सरुवा !
- अभिषेक गिरीलाई सार्दा विराटनगर जेलमा आन्दोलन