News

नेपालीमा वढ्दैछ खुसी हुने दर, विश्वका सबैभन्दा खुसी मुलुक मध्ये ७८औँमा नेपाल

नेपालीमा वढ्दैछ खुसी हुने दर, विश्वका सबैभन्दा खुसी मुलुक मध्ये ७८औँमा नेपाल

विश्वका सवैभन्दा खुसी मुलुक मध्ये नेपाल ७८औं स्थानमा परेको छ। संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक (यूएन एसडीएसएन)ले गरेको सर्भेक्षणमा यस्तो देखिएको हो।

मार्च २० अर्थात विश्व खुसी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरिएको हो। विश्वभरका १५० भन्दा बढी देशहरूमा गरिएको सर्वेक्षणका आधारमा खुसी देशहरूको सूची तयार पारिएको जनाईएको छ।

‘अरू व्यक्ति खासगरी अपरिचितप्रतिको परोपकार वा सहयोगी–दयाभाव सन् २०२१ मा नाटकीय रूपमा बढेको छ र यो सन् २०२२ मा पनि उच्च रहेको छ’ विश्व ह्याप्पिनेस रिपोर्टका लेखक मध्येका एक जोन हेलिवेले भनेका छन् ।

यो रिपोर्टले पछिल्ला तीन वर्षको जीवनयापनको मूल्यांकनका आधारमा खुसीको स्तरको स्थान तोक्ने गर्छ । यसको अर्थ सन् २०२३ को सूची २०२० देखि २०२२ सम्मको जीवनयापनको स्थितिमा निर्भर हुन्छ ।

फिनल्यान्डले लगातार छैटौँ वर्षको रिपोर्टमा सबैभन्दा खुसी देशका रूपमा पहिलो स्थान कायम गरेको छ । सूचीमा डेनमार्क, आइसल्यान्ड, स्वीडेन र नर्वेले पनि राम्रो स्थान पाएका छन् । सबैभन्दा कम खुसी मुलुकका रूपमा अफगानिस्तान १३७औँ स्थानमा छ । सूचीमा लेबनान १३६औँ स्थानमा छ ।

स्थान निर्धारणका लागि दिइने ० देखि १० मध्ये यी देशले पाँचभन्दा कम नम्बर पाएका छन् । सबैभन्दा खुसी मुलुकले १० नम्बर पाएको छ । २०२२ मा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसैले यी दुई देशको खुसीको स्तर पनि चासोको विषय बनेको छ । यो वर्षको रिपोर्टअनुसार रुस ७०औँ र युक्रेन ९२औँ स्थानमा छ ।

विश्वका सबैभन्दा खुसी मुलुकहरूको पहिलो स्थानमा फिनल्यान्ड, दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड, चौथोमा इजरायल र पाँचौँमा नेदरल्यान्ड्स छन् । स्वीडेन, नर्वे, स्वीट्जरल्यान्ड, लक्जमबर्ग र न्युजिल्यान्ड क्रमशः छैटौँदेखि दशौँ स्थानमा छन् ।

सूचीमा अष्ट्रेलिया १२औँ, क्यानडा १२औँ, संयुक्त राज्य अमेरिका १५औँ, बेलायत १९औँ स्थानमा छन् । भारत १२६औँ स्थानमा छ ।

नेपाल यो वर्षको रिपोर्टमा ६ अंकको सुधारसहित ७८औँ स्थानमा छ । २०२२ को रिपोर्टअनुसार नेपाल ८४औँ स्थानमा थियो । तर, नेपालले प्राप्त गरेको अंक गत वर्षभन्दा कम छ । गत वर्षको रिपोर्टमा नेपालले जीवनको मूल्यांकनमा ५.३७७ अंक पाएको थियो । यो वर्ष ५.३६० अंक पाएको छ । यसको अर्थ अरू देशहरूको स्थिति बढी बिग्रँदा नेपालको स्थान बढेको देखिन्छ ।

नेपालका छिमेकी चीन ६४औँ स्थानमा, भारत १२६औँ, बंगलादेश ११८औँ स्थानमा छन् । 

खुसी यूएन ‘ह्याप्पिनेस

विशेष