News खेल

सन्दीप लामिछानेले पनि जोगाउन सकेनन् नेपालको हार, युएईसँग ६८ रनले पराजित

सन्दीप लामिछानेले पनि जोगाउन सकेनन् नेपालको हार, युएईसँग ६८ रनले पराजित

युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको विश्वकप छनोट लिग–२ को आजको खेलमा सन्दीप लामिछाने समेतले नेपालको हारलाई रोक्न सकेनन्। नेपाल युएईसँग ६८ रनले पराजित भएको छ। 

टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर नेपाललाई २०८ रनको लक्ष्य दिएको थियो। तर, नेपाल १८ ओभर १ बल खेल्न बाँकी रहँदै १३९ रनमात्र बनाएर अल आउट भयो। 

नेपालका लागि सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरे । उनले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए। अन्तिम विकेटका रुपमा मैदान छिरेका उनले २४ बल खेलेर ४ चौकाको सहायताले २६ रनमा अविजित रहे। उनले अन्तिममा आएर राम्रो ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन जोडे। उनले अर्धशतकीय पालीमा ५३ बलको सामना गरी १ छक्का र ९ चौका प्रहार गरे। एक छेउबाट विकेट लगातार खसिरहँदा अर्को छेउमा भने कुशल मल्लले सम्हालिरहे। 

ज्ञानेन्द्र मल्ल‚ कप्तान रोहित पौडेल र आरिफ शेख तीनैजनाले कुनै रन बनाउन सकेनन्। नेपालका लागि कुशल मल्ल‚ आसिफ शेख र सन्दीप लामिछानेबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको शुरुवात खराब रह्यो। ओपनिङमा आएका कुशल भूर्तेल मात्र ६ बलको सामना गरेर व्यक्तिगत ५ रन जोडेर कुल स्कोर १२ रनमा आउट भए। उनी दोस्रो ओभरमै आउट भएका थिए। 

यसपछि क्रिजमा आएका ब्याटर ज्ञानेन्द्र मल्ल पनि जम्मा ६ बलमात्र खेलेर तेस्रो ओभरमै डक आउट भए। उनी आउट हुँदा नेपालको कुल स्कोर १५ रनमात्र थियो।

ज्ञानेन्द्र आउट भएपछि नेपालको ब्याटिङ सम्हाल्न आएका कप्तान रोहित पौडेल पनि तेस्रो ओभरमा नै मात्र २ बलको सामना गरेर शून्यमा नै आउट भएपछि नेपालसामु संकट उत्पन्न भयो। रोहित आउट हुँदा नेपालको कुल स्कोर १७ रनमात्र थियो।

यसपछि नवौं ओभरमा अर्का ओपनर आसिफ शेख पनि कुल स्कोर ५४ रन हुँदा व्यक्तिगत १७ रन बनाएर आउट भए। नेपालको स्कोर ६५ रहेका वेला १२ औं ओभरमा आरिफ शेख पनि १० बल खेलेर डक आउट भए। यति वेलासम्म १२ ओभरमा नेपालले ५ विकेटको क्षतिमा जम्मा ६५ रनमात्र बनाएको थियो। 

नेपालको कुल स्कोर ९३ रहेका वेला एक छेउमा टिकेका कुशल मल्ल १९ औं ओभरको पहिलो बलमै आउट भए। ५३ बलमा ६० रन बनाएका उनी पछि दीपेन्द्रसिह ऐरी २३ बलमा जम्मा ७ रनमात्र बनाएर बोल्ड हुन पुगे। यति वेला नेपालले जम्मा ९९ रनको स्कोरमा ७ विकेट गुमाउन पुग्यो।

नेपालको स्कोर १०७ रन हुँदा ८औं विकेटका रुपमा सोमपाल कामी पनि आउट भए। उनले २४औं ओभरमा उनी आउट हुनुअघि १३ बल खेलेर जम्मा ४ रनमात्र जोड्न सके। कुल स्कोर १०७ रन हुँदा नै २५औं ओभरमा गुल्शल झाका रुपमा नेपालको नवौं विकेट खस्यो। उनले १८ बल खेलेर ४ रन बनाए।

नेपालको अन्तिम विकेटका रुपमा करण केसी आउट भए। कुल स्कोर १३९ रन हुँदा उनी २० बलको सामना गरी ५ रन बनाएर आउट भए। युएईका रोहन मुस्तफा र कार्थिक मेयप्पनले ३÷३ विकेट लिए। जुनैद सिद्दिकीले २ तथा साबिर अली र जहुर खानले १÷१ विकेट लिए।

युएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे।  रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय पाली खेले भने आर्यन लाक्राले २८ रन बनाए। कप्तान सिपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रन बनाएर आउट भए। 

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। करण केसी, कुशल मल्ल र आरिफ शेखले १÷१ विकेट लिए।

सन् २०१९ देखि शुरु भएको विश्वकप लिग–२ का शृंखलामा नेपालले विदेशमा खेल्ने यो अन्तिम त्रिकोणात्मक शृंखला हो। यो शृंखलापछिका बाँकी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। पिएनजीमा खेलिनुपर्ने यो शृंखला मैदान ठिक नभएकाले युएईमा सारिएको थियो।
 

विशेष