News

सन्दीप लामिछानेले अदालतमा पेश गरेको कागजात नै किर्ते !

सन्दीप लामिछानेले अदालतमा पेश गरेको कागजात नै किर्ते !

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्षले अदालतमा झुठो विवरण पेश गरेको पाईएको छ। लामिछानेलाई थुनामुक्त गर्ने उद्देश्यले झुटो विवरण सहितको कागजात तयार गरी अदालतमा पेश गरेको भेटिएको हो ।

जिल्ला अदालत काठमाडौमा पेश भएका गौशाला–२६ (पीडित किशोरीको परिवर्तित नाम) को जन्ममिति सम्बन्धी कागजातसँग पेश गरेका विवरणहरु झुठा रहेको जनाईएको छ। १८ कात्तिकमा लामिछानेलाई थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पीडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारम सहितको प्रतिलिपि मगाएको थियो ।

पीडितको उनको जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयले जन्मदर्ता अभिलेखको किताब भन्दै गलत विवरण उल्लेख गरेर पत्र पठाएको पाईएको छ। सर्वोच्च अदालत सूत्रका अनुसार पीडितले नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयबाट अहिलेसम्म मिसिल प्राप्त भएको छैन ।

पीडितको जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयले २९ कात्तिकमा जन्मदर्ता विवरणबारे काठमाडौ जिल्ला अदालतलाई पठाएको पत्रमा १८ पुस ०७५ को मितिमा गौशाला–२६ को सम्बन्धित वडा कार्यालयमा जन्मदर्ता भएको थियो । पत्रमा ‘छोरी (गौशाला २६) को जन्म २०६१ असार १८) अनुसार जन्मदर्ताको प्रमाणपत्र माग गरेको र यस कार्यालयले सोही जन्मदर्ता प्रमाणपत्र दिएको’ उल्लेख रहेको श्रोतको दावी छ।

यसैगरी, पीडित परिवारका सदस्यले गौशाला २६ को एसईईंको प्रमाणपत्र अनुसार जन्ममिति परिवर्तन गरिपाउँ भनेर निवेदन दिएको उल्लेख छ । पत्रमा भनिएको छ, ‘जन्मदर्ता नम्बर अनुसार नै प्रतिलिपि दिइएकोले निजको जन्म मिति १८ असार २०६१ प्रमाणित हुने ।’

तर बलात्कार घटना हुनु दुई महिनाअघि २०७९ असारमा जिल्ला प्रशासन कार्यालयलाई पीडितको नागरिकता प्रमाण पत्रका लागि गरेको सिफारिसमा उनको जन्म मिति १८ असार २०६२ उल्लेख गरिएको थियो । सोही सिफारिसका आधारमा नागरिकता प्रमाण पत्र दिएको थियो ।

जिल्ला अदालत काठमाडौले वडा कार्यालयलाई उनको जन्म दर्ता खुल्ने अभिलेख किताब समेत पठाउन भनेको थियो । तर वडा कार्यालयले उनले जन्मदर्ता प्रमाणपत्र लिएको बेलामा ‘अनलाइनमार्फत काम हुने भएकाले कार्यालयमा अभिलेख किताब नरहेको’ जवाफ लेखेको छ । 

यसले झुटो विवरण तयार गर्न अभिलेख नै गायब बनाएको हुनसक्ने आशंका सुरु भएको छ। अर्कोतर्फ पीडीतका तर्फबाट प्रहरीले अदालतमा पेश गरेको सबै शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा समेत जन्ममिति १८ जेठ २०६२ भनी एउटै व्यहोरा उल्लेख छ ।

गत असारमा र अहिले पनि उही जन्ममिति भएको अवस्थामा स्थानीय पञ्जीकाधिकारीले कसरी पीडितको एक वर्ष बढी हुनेगरी जन्ममितिको विवरण पठाइदिए भन्ने खुलेको छैन ।

सन्दीप लामिछाने

विशेष