News

समाजवादीमा मन्त्रालय छनौटमै मतभेद, माधवको नेतृत्वमा कार्यदल

समाजवादीमा मन्त्रालय छनौटमै मतभेद, माधवको नेतृत्वमा कार्यदल

एक वर्षे प्रधानमन्त्रीका लागि राष्ट्रपति बन्ने अफर लत्याएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा भागवण्डा मिलाउन कार्यदल बनाएका छन् । सम्भावित सत्ता साझेदारी अघि बढाउन अध्यक्ष नेपाल कै नेतृत्वमा कार्यदल बनेको छ। 

पार्टी मुख्यालय आलोकनगरमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय लिएको उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले बताए। कार्यदलमा अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन्। 

‘सम्भावित सत्ता साझेदारीलाई अघि बढाउन विभिन्न विषयमा विभिन्न पक्षसँग छलफल गर्न कार्यदल बनाएका छौँ’, खतिवडाले भने, ‘केन्द्रदेखि प्रादेशिक सरकारसम्म छलफल गरेर निर्णयमा पुग्न यस्तो निर्णय लिइएको हो। कार्यदलले आफ्नो प्रस्ताव तयार गरी केन्द्रीय सचिवालयमा ल्याउनेछ।’

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको छ। अव कम्तीमा तीनवटा मन्त्रालयमा लिएर सरकारमा जाने तयारी रहेको छ। तर, सरकारमा जाँदा लिने मन्त्रालयको विषयमा भतभेद भएको छ । सरकारमा सहभागिताबारे छलफल गर्न बसेको सचिवालयले बैठक पार्टीले लिने मन्त्रालयको विषयमा नेताहरूबीच मतभेद भएको हो ।

समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले यसअघि नै यसपटक आफूहरुले रोजेको मन्त्रालय लिएर सरकारमा जाने बताइसकेका छन्। अन्य अधिकांश नेताहरूले जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय आफूहरूले लिनुपर्ने धारणा राखेका छन्।

एक नेताले भने, ‘अधिकांश नेताहरूले बैठकमा जनतासँग प्रत्यक्ष जोडिएको सिँचाइ, खानेपानी, शिक्षा, खेलकुद, स्वाथ्यलगायत मन्त्रालय लिनुपर्छ भन्ने राख्नुभएको छ भने केही अन्य पार्टीले ठूला संवैधानिक पद लिइसकेकाले गृह, अर्थजस्ता ठूला मन्त्रालय लिनुपर्नेमा जोड दिनुभएको छ ।’

बैठकपछि सम्मानित नेता झलनाथ खनालले पनि सरकारमा जानुको उद्देश्य प्रष्ट हुनुपर्ने बताए । उनले भने, ‘सकारमा कसरी जाने के उद्देश्यले जाने ? के नीति कार्यक्रमले जाने सरकारमा के कति हिस्सेदारी हुन्छ ? यस विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने भएको छ । मन्त्रीमात्रै बन्नेभन्दा नीति कार्यक्रममा पनि प्रष्टता खोजेका छौं ।’
 

माधवकुमार नेपाल

विशेष