प्रचण्डको विरोध गर्दा युवाको मुख थुनिएपछि रामकुमारी झाँक्रीलाई आपत

५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा मंगलवार तीन जना युवाले प्रधानमन्त्री पुष्पकमल दाहाल बिरुद्ध नाराबाजी गरे। प्रधानमन्त्री समक्ष आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै आग्रह गर्दा प्रहरीले अवरोध गरेपछि युवाहरु नाराजुलुसमा उत्रिएका थिए।
‘मूल्यवृद्धि खारेज गर, नालयक सरकार होसियार, युवालाई मार्न पाइँदैन–यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले ति युवालाई समात्यो। यति मात्र होईन, गाडी र सडकको छेउतिर लगेर उनीहरुको मुख थुन्दै नारा लगाउन नदिएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल छ।
विरोध गर्दा मुख थुन्ने र घाँटी न्याकेर थला पार्ने गरिएपछि अहिले प्रधानमन्त्री दाहालसहित सरकारको आलोचना भईरहेको रहेको छ। सरकार भने उनीहरुलाई मुद्दा लगाएर ठिक पार्ने योजनामा लागेको छ। ति युवालाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रधानमन्त्री विरुद्ध विरोध गर्दा युवाहरु पक्राउ परेको असर भने नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई परेको छ।
तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विरोध गर्न नपाएको भन्दै सार्वजनिक समारोहमा कालो टेपले मुख टालेर प्रश्तुत भएकी झाँक्रीलाई अहिले सामाजिक सञ्जाल प्रयोग कर्ताले ब्यंग्य गरिरहेका छन् ।
‘तपाईंको पार्टीको समर्थनमा बनेको सरकार हो है’ भन्दै विमल पोखरेल नामका ट्वीटर प्रयोगकर्ता लेख्छन्–‘केही त बोल्नुस् । पुष्पकमल दाहालको ज्यादती अति भएन र ? देश बिगार्ने ओली मात्रै होइनन् क्या । दाहाल, नेपाल, देउवा, ओली सबै जिम्मेवार छन् । मैले त भन्ने गरेको छु, यिनीहरू सबै ओली हुन नसकेका ओलीहरू नै हुन् ।’
रामकुमारी झाँक्री