News

शिव शिखरका असली सञ्चालकका श्रीमती र छोरा पनि फरार

अप्रत्यासित पैसा पाएपछि फजुल खर्च गरेर मात्तिएको थियो शर्मा परिवार

शिव शिखरका असली सञ्चालकका श्रीमती र छोरा पनि फरार

शिखर अर्गनाइजेसन ग्रुप तथा विराटनगर स्थित तुलसी सहकारी संस्थामा देखिएको आर्थिक अपचलनको समस्याले अहिले संचालक र तिनका परिवारका सदस्यको भागाभाग भएको छ।

यसअघि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा फरार थिए। शर्मा भारतमा वसेको वताईन्छ। अहिले उनकी जेठी श्रीमती गिता शर्मा र छोरा काल्र्स शर्मा पनि फरार भएका छन् । उनीहरु वसिरहेको ठाउँमा छैनन्। दुवै जना कहाँ गए भन्ने खुलेको छैन।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सिईओ लिलानाथ गौतमका छोराले आफना वुवा र आमालाई फसाएको भन्दै शर्माको सुकेधारा स्थित घरमै गएर तथानाम गरेपछि दुवै आमाछोरा घर छोडेर हिडेको वताईन्छ। केदारनाथमाथि आफन्त र कर्मचारीलाई समेत वचतकर्ताको निक्षेप अपचलनमा भागिदार वनाएको र ठगी धन्दामा सामेल गराएको आरोप छ।

केदारनाथका कारण सिईओ गौतमको परिवार अहिले अस्तब्यस्त देखिएको छ। उनी भागेपछि वचतकर्ताको सम्पुर्ण जिम्मेवारी गौतमको टाउकोमा आईलागेको छ भने विराटनगर स्थित तुलसी सहकारीमा भएको निक्षेप अपचलनको आरोपमा उनकी श्रीमती एवम् सहकारीकी उपाध्यक्ष अनिता गौतम समेत पक्राउ परेकी छिन्।

यही रिसमा गौतम पुत्रले शर्माका श्रीमती र छोरालाई घरमै पुगेर थर्काएपछि उनीहरु फरार भएको वताईन्छ। एकातिर पतिले दिएको पीडा अर्कोतर्फ वचतकर्ताको आक्रोशका कारण दुवै जना तनावमा छन्। केदारनाथले उनीहरुलाई पटक–पटक धोका दिईसकेका छन्।

केदारनाथले तुलसी बहुमुखी सहकारी संस्थाकी सचिव सविना न्यौपानेलाई श्रीमतीको दर्जा दिएर गितालाई पहिलो झट्का दिएका थिए भने उनीहरुको अपराध कर्ममा आमाछोरालाई नै भागिदार वनाएर तनाव दिएका थिए। यद्यपी, बचतकर्ताको पैसाको खोला बगाएर केदारनाथले श्रीमती र छोरालाई सान्त्वना दिने प्रयास गरेका थिए। 

जानकारहरुका अनुसार निम्न बर्गीय अवस्थाको शर्मा परिवार सहकारीको पैसाले ‘भुईमा न भाँडामा’ भने जस्तै भएका थिए। आफन्तहरु भन्छन– ‘उनीहरुको ब्यवहारमा अचानक परिवर्तन आएको थियो। उनीहरुको भुईमा खुट्टा थिएन। बेला–बेला अफिसमा गएर कर्मचारी समेतलाई फेद न टुप्पोको गाली गलोज गर्थे।’

केदारनाथकी श्रीमती गीता र छोरा काल्र्शको मुर्खता र फजुल खर्चका कारण पनि संस्था डुबेको कतिपय कर्मचारीहरु बताउँछन् । 

यो पनि,

तुलसी सहकारी केदारनाथ शर्मा शिखर अर्गनाइजेसन ग्रुप शिव शिखर

विशेष