News खेल

यूएईलाई उसकै घरेलु मैदानमै चुनौती दिदै नेपाली क्रिकेट टिम, सन्दीप पनि मैदानमा

यूएईलाई उसकै घरेलु मैदानमै चुनौती दिदै नेपाली क्रिकेट टिम, सन्दीप पनि मैदानमा

नेपाली क्रिकेट टोलीले आज यूएई (संयुक्त अरब ईमिरेट्स) सँग उसकै घरेलु मैदानमा दुई खेल खेल्ने भएको छ। नेपाली क्रिकेटका लागि बलियो प्रतिस्पर्धी बन्दै युएईसँग राष्ट्रिय पुरुष टिम र यु १९ क्रिकेट टिमले प्रतिस्पर्धा गर्न लागेका हुन्। 

यु १९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटअन्तर्गत उमेर समूहको टोलीले यूएईको सामना गर्न लागेको हो। यूएईसँग जित निकाले नेपाल यु १९ विश्वकप क्रिकेटमा छनोट हुनेछ। यु १९ को खेल अजमान ओवलमा नेपाली समयानुसार बिहीबार बिहान १०ः४५ बजेदेखि सुरु हुनेछ। 

१९ वर्ष मुनिको क्रिकेटमा नेपाल ८ वर्षपछि विश्वकपको नजिक पुगेको छ। एसिया छनोटअन्तर्गत यसअघिका ४ वटै खेलमा सहज जित निकालेको नेपाल यूएईविरुद्ध पनि उच्च मनोवलका साथ मैदान उत्रिने छ। 

उता सिनियर टोली पनि आफ्नो अपराजित यात्रालाई जारी राख्दै विश्वकप छनोटको सम्भावनालाई जीवित राख्ने उद्देश्यसहित यूएईविरुद्ध मैदानमा उत्रिँदैछ। नेपाल र यूएई बीचको खेल  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयानुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा लगातार ५ खेल जितेको नेपाल यूएईलाई हराएर लगातार छैटौं जित निकाल्ने उद्देश्यका साथ मैदान उत्रिनेछ। 

नेपाल आफ्नो ओडीआई मान्यतालाई कायम राख्न र विश्वकपको यात्रालाई सहज बनाउन जित्नै पर्ने दबाबमा रहँदा यूएई पनि आफ्नो ओडीआई मान्यता र विश्वकपको सम्भावनालाई जीवित राख्न संघर्षरत हुनेछ। यसअघि पपुवा न्युगिनीसँग १३१ रनले पराजित भएको यूएई नेपालसँग पराजित हुँदा उसको ओडीआई मान्यता जोखिममा पर्न सक्छ। 

नेपालले लिग २ को शीर्ष ५ टोलीमा रहेर ओडीआई मान्यता जोगाउनका लागि कम्तीमा ४ खेलमा जित्न आवश्यक छ। यस्तै, जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्नका लागि नेपालले बाँकी ७ मध्ये ६ मा जित्नैपर्ने हुन्छ।

यूएई पनि नेपालको जस्तै अवस्थामा छ। विश्वकप लिग–२ का शीर्ष ३ टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्। 

विशेष