News

चीनियाँ कम्पनीद्वारा प्राकृतिक स्वरूप नै बिगार्ने गरी एक्स्काभेटर लगाएर नदीको दोहोन

चीनियाँ कम्पनीद्वारा प्राकृतिक स्वरूप नै बिगार्ने गरी एक्स्काभेटर लगाएर नदीको दोहोन

गोरखा र तनहुँको सिमानामा पर्ने मर्स्याङ्दी नदीमा चीनियाँ ठेकेदारको रजाई चलिरहेको छ। ठकेदारले नदीको बीच भागमा एक्स्काभेटर लगाएर बहाव नै परिर्वतन हुने गरी ढुंगा, गिटी, बालुवा उत्खनन् भइरहेका छन्।

गोरखा नगरपालिका–१४ को शाहघाटमा १ लाख ४३ हजार ४६ घन फिट नदीजन्य पदार्थ उत्खनन् गर्नेगरी सुजन छिम्केश्वरी निर्माण सेवाले जिम्मा लिएको छ। यहाँ तीनवटा एक्साभेटरले धमाधम पानीभित्रैबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन्। संकलन गरिएको निर्माण सामग्री तनहुँतर्फ घाटगद्दी गरिएको छ। भैंसेटारमा ८६ हजार पाँच सय ९४ घनफिट नदीजन्य सामग्री संकलनको जिम्मा छिम्केश्वरी निर्माण सेवाले लिएको छ।

यी दुबै कम्पनीले उक्त सामग्री चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीलाई बिक्री गर्ने गरी संकलन गरिरहेका छन्। यो कम्पनीले आँबुखैरेनी–पोखरा सडकको खण्ड विस्तारसहित कालोपत्रेको जिम्मा लिएर काम गरिरहेको छ। गोरखातर्फको शाह घाटमा उत्खननको जिम्मा लिएको सुजन छिम्केश्वरी निर्माण सेवाले अवैध रूपमा उत्खनन गरे पनि नियमन निकाय मौन छ। ‘नदीभित्र उत्खनन गर्न मिल्दैन, गुनासो आएपछि मैले सोमबार स्थलगत हेरेर पानीबाट उत्खनन नगर्न भनेको छु,’ गोरखा नगरपालिकाका प्राविधिक कपिल कोइरालाले भने।

तीन दिनदेखि त्यहाँ उत्खननको काम चलिरहेको उनले बताए। गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले कानुनविपरीत उत्खनन भएको भए अनुगमन गरेर कारबाही गरिने बताए।

आँबुखैरेनी गाउँपालिका र पालुङटार नगरपालिकाले भने सिधैं चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीलाई नदीजन्य पदार्थ बिक्री गरेका छन्। आँबुखैरेनी गाउँपालिकाले ४५ हजार घनमिटर बिक्री गरिसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए। मार्किचोक घाट, सत्रसय घाट, बरादी घाटबाट उक्त परिणाममा सामग्री संकलन गरिएको गाउँपालिकाले जनाएको छ। ‘एक करोड २८ लाखको बिक्री भइससकेको र थप माग भएपछि अहिले मार्किचोकघाटबाट ११ सय ५८ घनमिटरको अनुमती लिएको छ।’

चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी (सीसीसीसी)ले नदीको प्राकृतिक स्वरूप नै बिगार्ने गरी मूल प्रवाहमै एक्साभेटर लगाएर ढुंगा, गिटी, बालुवा झिकिरहेको छ। जुन स्थानीय तहसँगका सम्झौता र प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) प्रतिवेदनविपरीत छ। त्यसमाथि ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को उल्लंघन गरेको देखिएको छ। 

उक्त कम्पनीले मापदण्ड र सम्झौताविपरीत मर्स्याङ्दीका दर्जनभन्दा धेरै घाटमा तीन सातायता अनियन्त्रित रूपमा दोहन गरिरहेको स्रोतले जनाएको छ। नदीको मध्यभागमा एक्साभेटर लगाएर दुईदेखि तीन मिटर गहिरो बनाइ ढुंगा, गिटी, बालुवा निकालिरहेको छ। यसले गर्दा नदी कुरुप बनेको छ। बर्खाका बेला आसपासमा बाढीपहिरोको जोखिम बढेको छ। 

उक्त कम्पनीले तनहुँका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, गोरखाका गोरखा र पालुङटार नगरपालिकाका क्षेत्रमा पर्ने नदीजन्य सामग्री निकाल्न अनुमति लिएको छ। आँबुखैरेनी गाउँपालिकाबाट ४५ हजार ३ सय १३ घनमिटर, भानु नगरपालिकाबाट ६ हजार ५ सय ६८ घनमिटर, पालुङटार नगरपालिकाबाट १० हजार घनमिटर, गोरखा नगरपालिकाबाट २ लाख २९ हजार ६ सय ४० घनफिट ढुंगा, गिटी, बालुवा उत्खननको अनुमति लिएको पाइएको छ। 

कम्पनीले आँबुखैरेनी–२ मार्किचोक घाटबाट ३९ हजार ४ सय ५७ घनफिट, रोधी खोलाबाट ७ लाख ६ हजार २ सय र बरादी घाटबाट ५ लाख ३६ हजार ३ सय ५८ घनफिट तथा वडा नं. १ को सत्रसय फाँटबाट ३ लाख ५७ हजार ४ सय ५० घनफिट सामग्री मूल प्रवाहबाट धमाधम उत्खनन गरिरहेको छ। पालुङटार नगरपालिकाको अबण्डा घाटबाट १८ सय ३, मझुवा घाटबाट ९ सय ८२, खोला घाटबाट ३ हजार ५ सय २, चनौटे घाटबाट १ हजार ५ सय ७० घनमिटर सामग्री मूल प्रवाहबाटै झिकिरहेको छ। सोही कम्पनीले गोरखा–१४ शाह घाटबाट १ लाख ४३ हजार ४६  र भैंसेटार घाटबाट ८६ हजार ५ सय ९४ घनफिट उत्खनन गरिरहेको छ। 

पालुङटार, भानु र आँबुखैरेनीका घाटमा सिधै सीसीसीसीले दोहन गरेको छ। गोरखा नगरपालिकाका बिभिन्न घाटबाट निजीले उत्खनन गरी उक्त कम्पनीलाई उपलब्ध गराएका छन्। भानुको बेनीबगर घाटबाट ४ हजार २ सय ५६ र बलिफाँट घाटबाट २ हजार ३ सय १२ घनमिटर उत्खनन भइरहेको छ।

चिनियाँ ठेकेदारले आफूलाई सजिलोका लागि आईईई प्रतिवेदनमा उल्लेख भएबमोजिम नदीजन्य सामग्री निकाल्न एस्काभेटर, ब्याकहुलोडरलगायत हेभी इक्विप्मेन्ट प्रयोग गर्न अनुमति दिन स्थानीय तहहरूलाई पत्र पठाएको थियो। मागबमोजिम पालिकाहरूले एक्स्काभेटर प्रयोगको अनुमति दिएसँगै अनियन्त्रित उत्खनन बढेको हो। 

नदीको दोहन बढेपछि स्थानीयवासीले विरोध गरेका छन्। तर, पालिकाहरूले भने राष्ट्रिय प्राथमिकताका आयोजनालाई विशेष अधिकार रहेको भन्ने जवाफ दिने गरेका छन्। उत्खनन भएका सबै ठाउँमा चेनवाला एक्साभेटर प्रयोग भएका छन्। 

यसलाई नियन्त्रण गर्नेतर्फ कुनै पनि स्थानीय तहले जिम्मेवारी पुर्वक काम गरेको देखिएको छैन।

दोहोन चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनी

विशेष