News

चीनियाँ कम्पनीको दादागिरीः नारायणगढ–बुटवल सडक अस्तब्यस्त

म्याद सकिँदा २५ प्रतिशत मात्रै काम, ८ घण्टामा पनि छिचोलिँदैन २ घण्टाको वाटो

चीनियाँ कम्पनीको दादागिरीः नारायणगढ–बुटवल सडक अस्तब्यस्त

४२ महिनाभित्र काम फत्ते गर्ने गरी जिम्मा लिएको चीनियाँ कम्पनीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम अलपत्र जस्तै पारेको छ।

०७५ पुसमा उक्त सडक विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसियसनले सडक विभागसँग सम्झौता गरेको थियो। तर, ४ वर्ष पूरा हुनै लाग्दा २५ प्रतिशत मात्रै काम भएको छ। निर्माण सुरु भएको यति लामो समयसम्म पनि कामले गति लिन नसक्दा सबैलाई हैरानी पारेको छ।

११३ किलोमिटरको यो सडक पहिले २ घण्टामा पार गर्न सकिन्थ्यो। तर, अहिले ६ देखि ८ घण्टा लाग्ने गरेको सवारी चालक र सेवाग्राही बताउँछन्। जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन नसकेको गुनासो पीडितहरूको छ ।

‘निर्माणका क्रममा केही समस्या त हुन्छ, तर यति लामो समय अस्तव्यस्त बनाउँदा पनि सरकारले वास्ता गरेको छैन’– चालक दीपक थापाले भने। सडक छेउमा बनाइएका खाल्डाखुल्डीले एकपटक यात्रा गरेपछि गाडीमा पूरै समस्या आउने र काम सुरु गरेको स्थानमा निर्माण सामग्री बाटोमै राख्ने तथा नियमित धुलो मार्ने गरी पानी छर्कने काम नहुँदा सास्ती पाएको उनको गुनासो ।

ठेकेदार र नियमनकारी निकायको मिलेमतो भएकै कारण यस्तो समस्या आएको अधिकांश चालकहरु वताउँछन् । बर्दघाटको राजमार्ग छेउमा व्यवसाय गर्ने इन्दिरा पन्तले बाटो बन्न ढिलाइ हुँदा आफ्नो व्यवसाय चौपट भएको बताईन। ‘सुरु गर्दा २ वर्ष पनि लाग्दैन भनेका थिए, तर ४ वर्ष वितिसक्दा पनि अवस्था यस्तो छ’ उनले भनिन्–‘चौबीसै घन्टा धूलो उडेको छ । धूलो धूवाँले रोगी बनायो।’

सडक विभागले यसअघि तोकिएको समय सीमाभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचना नै प्रकाशित गरेको थियो । तर, काम अघि बढाउन सकेको छैन। सडक चार लेन बनाउने गरी दुई खण्डमा विभाजन गरेर सडक विस्तारको ठेक्का लागेको छ।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल सडक खण्डलाई गैंडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन रिएको छ। गैंडाकोट–दाउन्ने ६५ किमि सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने–बुटवल ४८ किमि सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । दुबैतर्फ काम उस्तै सुस्त छ । ठेकेदार कम्पनीले काममा विलम्ब गर्दा यो सडक खण्डमा यात्रा गर्ने यात्रुलाई निकै सास्ती छ ।

ठेकेदारले उक्त सडक खण्डका ठाउँ–ठाउँमा पुल र कल्भर्ट निर्माणलाई जोड दिएको छ भने राजमार्ग ठाउँ–ठाउँमा भत्काएर छोडेको छ । लामो समय खाडल, धूलो र हिलोले यात्रु आजित छन् । निर्माण सम्पन्न गर्ने समयावधि सकिनै लाग्दासमेत सडक विस्तार निकै सुस्त छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा शिलान्यास गरेको सडक विस्तारको काम चीनियाँ कम्पनीले अस्तब्यस्त पारेको पीडितको गुनासो छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले पनि सोचेअनुरूपको काम गर्न नसकेको बताए । उनले भने. ‘काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामै थियौं । तर, पछि कम्पनीले काम गर्छौं भनेर आश्वासन दिएपछि पुनः ६ महिना हेरौं भनेर समय दियौं । तर, अझै पनि काम सन्तोषजनक रहेको छैन ।’

विभागका अनुसार बुटवल–बर्दघाट सडक खण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत हाराहारी काम भएको छ भने बर्दघाट–गैंडाकोट क्षेत्रमा करिब १९ प्रतिशतमात्र काम भएको छ ।

आयोजनाका अनुसार बुटवल–बर्दघाट सडक खण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ । यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने इन्जिनियरहरु वताउँछन्। तर, काम आधा जति बाँकी नै छ। काम नसकिने भएपछि कम्पनीले म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । 

यो पनि,

नारायणगढ–बुटवल सडक चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसियसन

विशेष