राहुल गान्धीलाई मानहानि मुद्दामा २ वर्ष जेल सजाय

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाईएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले यस्तो सजाय सुनाएको हो ।
सुरतको एउटा अदालतले चार वर्ष पुरानो मुद्दामा २ वर्षको जेल सजाय तोकेको र धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार राहुल गान्धीलाई १० हजार रुपैयाँमा धरौटीमा छाडिएको हो। सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय पनि दिएको छ।
सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए। मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए। राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ।
सन् २०१९ को लोकसभा चुनावको प्रचारप्रसारका क्रममा कर्नाटकको कोलारमा उक्त विवादास्पद भनिएको बयान दिएको आरोप छ । राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ।
अदालतको आदेशलगत्तै राहुल गान्धीले महात्मा गान्धीको भनाइ फेसबुकमा सेयर गरेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, अहिंसा त्यसलाई प्राप्त गर्ने साधन।’