News

सरकारमा जान देउवाले छाने विश्वास पात्र, कांग्रेसबाट को को हुँदैछन मन्त्री ?

सरकारमा जान देउवाले छाने विश्वास पात्र, कांग्रेसबाट को को हुँदैछन मन्त्री ?

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने तयारी भएको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने चर्चा चले पनि सभापति देउवाले आफनो विश्वास पात्र महतलाई कांग्रेसको नेतृत्व गर्दै सरकारमा पठाउने तयारी थालेका छन् ।

देउवाले आजै मन्त्रीहरूको नामको सूची बाहिर ल्याउने तयारी गरेका छन्। मन्त्रीहरूको नाममा विवाद कम आओस् भन्ने उद्देश्यले उनले पार्टीका शीर्ष नेताहरूसँग परामर्श पनि गर्ने जनाईएको छ।

प्रधानमन्त्री दाहालले पनि सभापति देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन्। भेटमा दाहालले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको लिस्ट बुझाइसक्न देउवालाई आग्रह गरेको बुझिएको छ।

मन्त्रालयमा मन्त्रालय बाँडफाँटको टुंगो नलागिसके पनि दाहाल र देउवाले सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेतासँग मन्त्रिपरिषद् विस्तारबारे पुनः छलफल गर्ने भएका छन्। बुधबार बसेको दस दलीय गठबन्धन बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। तर बैठकमा सहभागी नेताहरू मन्त्रालय बाँडफाँटको सहमति नजिक पुग्न भने सकेनन्।

प्रधानमन्त्री दाहालले १३ चैतभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने जानकारी गठबन्धन दलको बैठकमा गराएका छन्। बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा अड्को नथाप्न गठबन्धनमा आबद्ध दलका नेताहरूसँग आग्रह गरेका थिए।

मन्त्रालय नेतृत्वविहीन हुँदा काम गर्न असहज भएको विषय प्रवेश गराएका उनले छिट्टै मन्त्रालय बाँटफाँटको टुंगो लगाएर निष्कर्षमा पुग्ने विषयमा ध्यानाकर्षण गराएका थिए। दाहालले ६ चैतमा ११ दलबाट विश्वासको मत पाएपछि १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गरिने बताएका थिए। तर सत्तारुढ दलहरूबीचमै धेरै मन्त्रालयमा मागदाबीमा आएपछि भागबन्डाको किचलोका कारण शुक्रबार पनि मन्त्रिपरिषद् विस्तार नहुने संकेत देखिएको छ। 

मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आबद्ध सबै दलले मन्त्री हुनेहरूको नाम छनोट गर्न थालेका छन्। ती नाम प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार गर्नेबारे मोटामोटी सहमति भएको छ। यद्यपिसरकारलाई विश्वासका मत दिएका दलमध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्नेबारे बैठकमा छलफल भएको छैन। 

विशेष