एआईजी ज्ञवालीको भर्ना प्रक्रियामा कानुनी जटिलता नरहेको निस्कर्ष

आईजीपीको दौडमा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियामा त्रुटि रहेको भन्दै अनावश्यक हल्ला भएको पाईएको छ। गृह मन्त्रालय स्रोतले ज्ञवालीको भर्ना प्रकृयामा कुनै कानुनी जटिलता नरहेको जनाएको छ।
ज्ञवालीले ०५० पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए । २५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिती रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।
उजुरी सम्बन्धमा छानबिन गरेको गृहले प्रहरी विनियमावलीको तत्कालीन व्यवस्था अनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ । भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगत नहुने गृहका एक अधिकारीले बताएका छन् ।
ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक–फरक छ । प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ ।
अहिलेको नियमावलीलाई आधार मानेर हेर्दा उनी अयोग्य ठहरिन्छन् । तर, ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा कायम रहेको नियमावली अनुसार उनको भर्नामा कुनै त्रुटी देखिँदैन । प्रहरी नियमावली २०४९ को दफा १३ (क) मा ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने लेखिएको छ ।
२०७१ सालको संशोधनमा ‘दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक’ भनेर बनाइएको छ। २०४९ को नियमावलीमा प्रष्ट रुपमा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मानिएको छ ।
जसअनुसार ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ । नियमावलीअनुसार वैशाख १ गते ज्ञवालीको उमेर २४ वर्ष ५ महिना हुन्छ ।
यो पनि,
- भावी आईजीपीका लागि ३ जनाको टक्कर, ज्ञवालीको सम्भावना वलियो
- १० दिनपछि नेपाल प्रहरीले पाउने छ नयाँ नेतृत्व, यी हुन प्रतिस्पर्धी