News

चीनियाँ जहाजले डुवायोः तीन वर्षदेखि ग्राउण्डेड ५ जहाज वेच्ने तयारी

चीनियाँ जहाजले डुवायोः तीन वर्षदेखि ग्राउण्डेड ५ जहाज वेच्ने तयारी

ऋण लिएर किनेका ५ वटा चीनियाँ जहाजले टाट पल्टाएपछि नेपाल वायुसेवा निगमले ति जहाज विक्रि गर्ने प्रकृया सुरु गरेको छ। तीन वर्षदेखि ग्राउण्डेड गरिएका जहाज ल्याउँदा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपियाँ खर्च गरेको थियो।

कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो। ६ वटा चिनियाँ जहाजमध्ये एउटा एमआई ६० र एउटा वाई १२ जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चारवटा जहाज जीटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणालीअन्तर्गत) चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो। 

६ वटा जहाजमध्ये वाई १२ नेपालगञ्जमा दुर्घटनामा परेको थियो। पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले विमान हटाउन लागेको हो।

चीनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। उनीहरुले एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने जनाईएको छ। मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने निगमले जनाएको छ।

चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरिएको थियो। मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७ साउनदेखि ग्राउन्डेड जहाजको इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्याङ्कन हुन लागेको हो। 

चीनबाट भित्र्याइएका यी जहाजले नाफा दिन नसकेपछि निगमले भाडामा लगाउने अथवा नेपाली सेनालाई स्काई ट्रक बनाउन दिनेलगायतबारे सोच बनाए पनि जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया सुरु गर्न लागिएको हो। जहाज भाडामा लगाउन निगमले दुई पटक बोलपत्र आह्वानसमेत गरेको थियो तर कसैको आवेदन परेन।

निगमले जहाज बिक्रीका लागि जहाज जे जस्तो अवस्थामा छ, सोही अवस्थामा मूल्याङ्कन गर्न लागेको जनाएको छ। यही मूल्याङ्कनका आधारमा जहाज बिक्रीको टेन्डर गरिने छ।

चीनियाँ जहाज ग्राउण्डेड

विशेष