News विदेश

८० हजार युरोको घडी लुकाएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल संकटमा 

८० हजार युरोको घडी लुकाएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल संकटमा 

८० हजार युरो पर्ने विलासी घडी लुकाएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ विवादमा परेका छन् । घडी लगाएर अन्तर्वार्ता दिन पुगेका उनले सोही क्रममा टेबलमुनि हात छिराएर घडी फुकालेको भन्दै चर्को आलोचना भएको छ।

राष्ट्रपति फ्रान्समा जारी आन्दोलनका विषयमा अन्तर्वार्ता दिन टेलिभिजनमा उपस्थित भएका थिए। अन्तर्वार्ताको क्रममा उनले ८० हजार युरो पर्ने विलासी घडी टेबलमुनि हात लुकाएर फुकालेको आरोप आलोचकहरुले लगाएका छन्।

तर, सो दाबी गलत भएको राष्ट्रपति कार्यालयको भनाइ छ। घडीको मूल्य २४ सय युरोभन्दा कम पर्ने केहीको भनाइ छ। राष्ट्रपति कार्यालयका प्रतिनिधिले अन्तर्वार्ताका क्रममा टेबलमा ठोक्किएर बारम्बार आवाज आएपछि उनले घडी फुकालेको बताएका छन्। 

अन्तर्वार्तामा करिब १० मिनेट बितेपछि म्याक्रोँले टेबलमा हात राख्दा आवाज आएको सुनिन्छ। त्यसपछि उनी हात टेबलमुनि लैजान्छन्। पछि उनको हात बाहिर आउँदा घडी हुँदैन। सो भिडिओ क्लिप अहिले भाइरल बनेको छ।

फ्रान्सेली सञ्चारमाध्यमहरुले भने सो घडी बेल एन्ड रोस कम्पनीद्वारा निर्मित भएको र १६ सयदेखि २४ सय युरोसम्म पर्ने बताएका छन्।

म्याक्रोँ आफ्नो पेन्सन सुधार कार्यक्रमका कारण विवादित छन्। अवकाशको उमेर ६२ बाट ६४ बनाएको विरोधमा ठुल्ठूला प्रदर्शन भइरहेका छन्। बिहीबार करिब ३० लाख मानिसले सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका थिए।

म्याक्रोँले सामान्यजनको अवस्था नबुझेको आरोप लाग्दै गरेका बेला अन्तर्वार्तामा उनले घडी लुकाउँदा झन् आलोचना भएको छ। कतिपयले उनलाई ‘धनीहरुका राष्ट्रपति’ भन्दै आएका छन्। 

विशेष