News

कांग्रेसको दावी अर्थसहित ८ मन्त्रालयमा, प्रचण्ड भन्छन– ७ मन्त्रालय लिनोस 

कांग्रेसको दावी अर्थसहित ८ मन्त्रालयमा, प्रचण्ड भन्छन– ७ मन्त्रालय लिनोस 

प्रधानमन्त्रीले मन्त्रालय भागवण्डाको छलफल सुरु गरेपछि नेपाली कांग्रेसले अर्थसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।

अहिलेसम्मको प्रगतिबारे उपसभापति पूर्णबहादुर खड्काले ब्रिफिङ गरेका थिए। खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताए। ‘अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय कांग्रेसलाई चाहिन्छ, हामी संसदको सबैभन्दा ठूलो पार्टी हो भनेर भनेका छौं,’ पदाधिकारी बैठकमा भएको कुराकानीबारे एक नेताले भने, ‘८ मन्त्रालयको अडानसहित गठबन्धन बैठकमा छलफल गर्ने कुरा भएको छ।’

प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस बैठकमा भएको थियो। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ।

खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको ती पदाधिकारीले बताए। खड्काले आफू मन्त्री नबन्ने सार्वजनिक रूपमा बताउँदै आएका छन्। 

उपसभापति खड्का मन्त्री बन्न नचाहेमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय लिने गरी सरकारमा पठाउने तयारीमा सभापति देउवा छन्। कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकबाट निर्णय गर्ने तयारीसमेत गरेको छ।

मन्त्री छान्दा योग्यता, क्षमता र समावेशीतालाई ध्यान दिने पनि कांग्रेसले बताएको छ। सात प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुने गरी मन्त्री पठाउने तयारीमा कांग्रेस छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले नै मन्त्री छान्ने मापदण्ड बनाइसकेको छ।

प्रधानमन्त्री दाहालले दुई÷तीन दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्। दाहालले १६ मन्त्रालय आफैंले हेर्दै आएका छन्। दाहालले गृह मन्त्रालय आफैंसँग राख्न खोजेका छन्। कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पनि गृह आफूहरूलाई चाहिने दाबी गरेको स्रोत बताउँछ। दाहालले गृहबाहेक मन्त्रालय दिने गरी रास्वपालाई पनि सरकारमा ल्याउन चाहेका छन्।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिएका सबै दलसँग एक पटक भेटवार्ता गरेर मन्त्रालयबारे कुराकानी गरिसकेकोले अब सत्ता गठबन्धन बैठक राखेर मन्त्रालय प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्। सरकार बिस्तार लगायतबारे माओवादी पदाधिकारी बैठकमा शनिबार छलफल भएको थियो। नेता देवेन्द्र पौडेलका अनुसार सोमबारभित्र मन्त्रिपरिषद बिस्तार गर्न गृहकार्य भइरहेको छ। 

दाहालले गत चैत ६ मा विश्वासको मत लिएका थिए। उनले दुई÷चार दिनभित्र मन्त्रिपरिषद बिस्तार गरिसक्ने बताएका थिए। मन्त्रिपरिषद बिस्तारमा ढिलाइ हुँदा सरकारका कामकारबाही प्रभावित हुने गरेका छन्।
 

विशेष