यी हुन कांग्रेसबाट मन्त्री वन्नेहरु, पूर्णबहादुर खड्काले गर्नेछन् नेतृत्व

सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुको नाम टुङ्गो लागेको छ।
जानकारी अनुसार गृह मन्त्रालयको दाबी गरेका उपसभापति पूर्णबहादुर खड्का पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने भएका छन् । तथापि, उनले गृहमन्त्रालय पाउने सम्भावना क्षीण छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल गृहमन्त्री आफ्नै दलबाट बनाउने पक्षमा छन् । गृह मन्त्रालय सम्भव नभए पनि खड्का पार्टीबाट नेतृत्व गरेर जान सहमत देखिएको शीर्ष तहका एक नेता बताउँछन् ।
संस्थापन पक्षबाट नाम फाईनल छ। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ । प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा छन्।
२ मन्त्री र १ राज्यमन्त्रीको नाम पार्टीभित्र चयन हुन बाँकी छ । सात मन्त्रीबाट संस्थापनइतरले ३ माग गरे पनि दुई जना मात्रै पाउने अवस्था रहेको नेताहरु बताउँछन् । त्यसो हुँदा संस्थापन पक्षले मन्त्री र राज्यमन्त्री १÷१ र संस्थापनइतरले १ जना मन्त्रीको नाम टुंगो लगाउनुपर्ने हुन्छ ।
उपसभापति गुरुङ संस्थापनइतरबाट मन्त्री हुने पहिलो सूचीमा छन् । संस्थापनइतरमा पहिलो वरीयता हुनुको साथै जनजाति हुनुको लाभ उनले उठाउने भएका छन् ।
सभापति शेरबहादुर देउवाको सर्वाधिक जोडबल प्रवक्ता डा. प्रकाशशरण महतमा छ । देउवाले अर्थमन्त्रीको पदमा महतलाई पु¥याउन बल गरिरहेका छन् । नेतृत्व गरेर जाने इच्छा सहित महतले उपसभापति खड्कालाई रोक्न खोजिरहेको कांग्रेसभित्र चर्चा हुँदै आएको छ ।
अर्थ मन्त्रालयमा खड्काले जिम्मेवारी सम्हाले भने महतले परराष्ट्र मन्त्रीको दाबी गर्ने कांग्रेसका एक नेता बताउँछन् । महतसँग परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव पनि छ । तर, महत निकट एक नेताका अनुसार अर्थ मन्त्रालय बाहेकमा उनको कम रुचि छ । उद्योगपति विनोद चौधरीको पनि यो मन्त्रालयमा जानका लागि तीव्र लबिङ छ ।
सहमहामन्त्री किशोर सिंह राठोर यसपटक मन्त्री भइछाड्ने पक्षमा छन् । संस्थापनबाट रामहरि खतिवडाको चर्चा पनि छ। तेजुलाल चौधरी, अजय चौरसिया र रमेश रिजाल मधेशबाट मन्त्रीका आकांक्षी हुन् ।
संस्थापन समूहबाट मोहन बस्नेत, उदयशमशेर राणा, वीरबहादुर बलायर लगायत पनि मन्त्रीको तीव्र आकांक्षी छन् । दीपक गिरी र दीपक खड्का मध्ये एक जनालाई शशांकले मन्त्री बनाउन चाहेका छन् ।
संस्थापनइतरमा जीवन परियार, बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु मन्त्रीको आकांक्षी छन् । युवापुस्ताबाट मन्त्री हुनेको नाममा प्रदीप पौडेलको चर्चा छ ।
कांग्रेसले अर्थ, परराष्ट्र र रक्षासहित ७ मन्त्रालय पाउने सम्भावना छ । पार्टीले कुन–कुन मन्त्रालय पाउँछ भन्ने निश्चित भएसँगै त्यस अनुसार व्यक्ति छनोट हुने नेताहरु बताउँछन् ।