News

सन्दीपलाई थुनामा पठाउने न्यायाधिशकै वेच्नमा परेपछि निवेदन हालेर सुनुवाई स्थगित

सन्दीपलाई थुनामा पठाउने न्यायाधिशकै वेच्नमा परेपछि निवेदन हालेर सुनुवाई स्थगित

अन्तिम सुनुवाईका लागि पेशी तोकिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई अन्तिम समयमा स्थगित भएको छ। लामिछानेले निवेदन दिएपछि मुद्दाको सुनुवाइ स्थगित भएको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो। घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो। 

आफूहरूले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएको र स्थगित पनि भएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए। जिल्ला अदालत काडमाडौंले पनि प्रतिवादीका कानुन व्यवसायीले मुद्दा हटाएको जनाएको छ।  

गत फागुन १५ गते फास्ट ट्रयाकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको थियो। भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा लामिछाने विरुद्ध जाहेरी दिएकी थिइन्।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध प्रहरीमा जाहेरी दर्ता हुँदा उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। 

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिए। पुस १८ गते उच्चले उनलाई ५ सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो। 

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो। 

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो। 

यो पनि,

सन्दीप लामिछाने

विशेष