News

एयर इन्डियाको जहाजले नेपालको जहाजलाई आकाशमै ठोक्न खोजेपछि...

एयर इन्डियाको जहाजले नेपालको जहाजलाई आकाशमै ठोक्न खोजेपछि...

नेपाल एयरलाईन्सको जहाजलाई आकाशमै ठक्कर दिन खोजेको एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध लगाईएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि यस्तो कारवाही गरेको हो।

गत शुक्रबार मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएका थिए । १९ हजार फिटमा उडिरहेको एयर इन्डियाको जहाज एकैपटक १५ हजार फिटमा तल झारेर नेपाल एयरलाईन्सको जहाजलाई झण्डै ठोकेको थियो।

प्राधिकरणका अनुसार इण्डियन एयरलाईन्सको गल्तीका कारण दुई विमान ३ सय फिट नजिकै पुगेका थिए । दुईवटा जहाजको दूरी एकदम नजिक भएपछि निगमको जहाज चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेको थियो। त्यसपछि नेपाल एयरलाइन्सको जहाज सात हजार फिटमा झरेको थियो । उक्त समय दुईवटै जहाजमा गरी ३५० यात्रु सवार थिए ।

यो घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इन्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ।

एयर इन्डियाका चालक दललाई थप कारबाहीका लागि भारतीय नागरिक उड्डयन कार्यालयको हवाई सुरक्षा विभागलाई पत्राचार समेत गरेको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन जना एटीसी पनि कारबाहीमा परेका छन्। एउटै उचाइमा दुईवटा जहाजलाई एकै पटक उडान अनुमति दिइएको विषयमा अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए । प्रवक्ता निरौलाका अनुसार छानबिन समितिको अध्ययन प्रतिवेदन नआउँदासम्म तीन जना एटीसीले काम गर्न पाउने छैनन् । 

एयर इन्डिया नेपाल एयरलाईन्स

विशेष