News

भारतीय राजदूत र उपप्रधानमन्त्रीले गरे कमलविनायक–नगरकोट सडकको अनुगमन 

भारतीय राजदूत र उपप्रधानमन्त्रीले गरे कमलविनायक–नगरकोट सडकको अनुगमन 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डको अनुगमन गरेका छन् ।

भारतीय एक्जिम बैंकको आर्थिक सहयोग निर्माणाधिन उक्त सडक अनुगमन गर्न मन्त्री र राजदुतसहितको टोली पुगेको हो। कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर उनीहरुले सडकको स्थलगत अनुगमन गरेको उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण माग्दा निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बाचा गरेको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसमेत छन् ।
 

विशेष