News

पीडित भनेर उद्वार गरिएकी किशोरी मानव वेचविखन र यौन ब्यवसायमा संलग्न

पीडित भनेर उद्वार गरिएकी किशोरी मानव वेचविखन र यौन ब्यवसायमा संलग्न

मानव वेचविखन परेकी पीडित किशोरी भन्दै उद्वार गरिएकी एक किशोरी नै त्यस्तो धन्दामा संलग्न भएको पाईएको छ। प्रहरीले भारतस्थित नेपाली दूतावासको सहयोगमा ९ जना किशोरीलाई दिल्लीबाट उद्वार गरी चैत ७ गते नेपाल ल्याएको थियो।

उद्वार गरिएका किशोरी मध्येकै धादिङ धुनिबेशी–२ की २० वर्षीया सुस्मा मगराती युवती वेचविखनमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले सुस्मासहित उनका पति २५ वर्षिय भुवन तामाङ र मकवानपुरको भिमफेदी–९ की २० वर्षिया सेन्जी भनिने सम्झना तामाङलाई नियन्त्रणमा लिएको छ।

सुस्माले श्रीमान भुवनसँग मिलेर दुई÷तीन जना किशोरीलाई दिल्ली पुर्याएको अनुसन्धानमा खुलेको छ। उनीहरूले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे लगायत मनोरञ्जन क्षेत्रमा काम गर्ने युवती तथा महिलाहरूलाई निशाना बनाउँथे। 

भारतको दिल्लीका होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनेर उनीहरुले किशोरीलाई फकाएर दिल्ली पु¥याई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको भनाई छ। 

सेन्जीले पनि सुस्मा दम्पत्तिले झै युवतीहरूलाई लोभ्याउने, फकाउने गर्थिन्। गत असोजदेखि फागुनसम्ममा तीन जनाले ८ जना पीडितलाई दिल्ली पु¥याएका थिए। उनीहरुले किशोरीहरूलाई दिल्ली पु¥याउन काठमाडौंबाट नेपालगन्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाउँथे। 

केही पीडितलाई भने गाडीमा समेत लगिएको अनुसन्धानबाट खुलेको छ। दिल्ली पुगेपछि उनीहरूले मोबाइल र भारतीय नम्बर उपलब्ध गराउने, फेसबुक आइडीहरू खोलिदिने र गिरोहकै व्यक्तिहरूले पासवर्ड लिएर अनलाइन निगरानी गर्ने गरेका थिए।

एक जना युवतीले एक महिनामा कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दवाव थियो। सुस्मा, उनका पति र सेन्जीले प्रति महिला ५० हजार रूपैयाँ लिने गरेको खुलेको छ। सेन्जीले भने हालसम्म ८ जनालाई पठाएबापत तीनपटक गरी ६० हजार लिएको प्रहरीसँग दाबी गरेकी छन्।

सुस्मा पीडितहरूसँगै फेला परेकी थिइन्। तर उनको पनि मानव बेचबिखन गर्नेमा भूमिका थियो÷थिएन भन्ने खुलेको थिएन। पीडितको उद्धार गर्ने बेलामा प्रहरीले उनलाई पनि सँगै ल्याएको थियो।

सोधपुछ गर्ने क्रममा उनले नै तीन जनालाई त्यहाँ पठाएको खुलेको थियो। उनको दुई महिनाको बच्चा छ। पैसा कमाउन श्रीमतीलाई पनि भारत वठाएको भुवनले वताएका छन् । मानव बेचबिखनमा संलग्नहरू अरू पनि अझै भारतमै रहेको जनाईएको छ।
 

मानव वेचविखन

विशेष