News

मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित बुध, वृहस्पति, शुक्र मंगल र अरुण ग्रह

मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित बुध, वृहस्पति, शुक्र मंगल र अरुण ग्रह

मंगलबार सूर्यास्तसँगै चन्द्रमासँग पाँच वटा ग्रह एकसाथ देखिनेछन् । आकाशको पश्चिम दिशामा चन्द्रमासँगै बुध, वृहस्पति, शुक्र, मंगल र अरुण ग्रह पनि देखिनेछन् ।

क्षितिजको नजिकै बुध र वृहस्पति एक ठाउँमा, त्यसको केही माथि आकाशमा शुक्र र अरुण र चन्द्रभन्दा पनि माथि मंगल ग्रह देखिने छ । बुध र वृहस्पति भने सूर्यास्तपछि आँध्यारो सुरु हुने बित्तिकै देखिएर अस्ताउँनेछन। बुधभन्दा वृहस्पति दोब्बरले चक्किलो देखिनेछ ।

बुध साँझ सात बजेर ३ मिनेटसम्म आकाशमा देखिनेछ । बुध अस्ताएको ५ मिनेटपछि अर्थात ७ बजेर ८ मिनेटमा वृहस्पति अस्ताउने छ । त्यसैगरी शुक्र राति ९ बजेर ३ मिनेटमा अस्ताउने छ । शुक्रलगत्तै अरुण ९ बजेर १९ मिनेटमा अस्ताउने छ । मंगल भने मध्यरातसम्म आकाशमा देखिनेछ । मंगल राति पौने एक बजे मात्रै अस्ताउने छ ।

‘केही राम्रोसँग चम्किलो देखिन्छ भने केहीलाई हेर्न टेलिस्कोपकै प्रयोग गर्नुपर्ने हुन्छ,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘भौगोलिक अवस्थिति र प्रदूषणको कारण सबै ग्रह नदेखिन सक्छन् ।’ पाँच वटा ग्रहमध्ये अरुणको पृथ्वीबाट देखिने चम्किलोपन सबैभन्दा कम छ ।’

कृत्रिम प्रकाशको प्रदूषण कम भएको ठाउँमा जाने हो भने अरुणबाहेक अन्य ग्रह नांगो आँखाले राम्रोसँग देख्न सकिने उनले वताए। बुध सूर्य नजिकै हुन्छ । डाँडाहरुले नछेल्ने ठाउँमा नजाने हो भने यसलाई हेर्न अलि कठिन छ ।

बुधको चम्किलोपन माइनस १.३३ म्याग्निच्युड रहेको छ । सबैभन्दा चम्किलो तारा सिरिउस (ब्याधा) माइनस १.४५ म्याग्निच्युड रहेको छ । त्यसैगरी मंगलबार राति चन्द्रमा माइनस १०.७५ म्याग्निच्युड चम्किलो देखिनेछ । सूर्यको माइनस २७ म्याग्निच्युड हुन्छ । प्रकाश वा अन्य कुनै प्रकारको प्रदूषण नभएको ठाउँबाट आकाशमा रहेको ६ म्याग्निच्युडसम्मको चम्किलो वस्तु नांगो आँखाले देख्न सकिन्छ ।

चन्द्र नजिकै रहेको अरुणलाई नांगो आँखाले देखिने सम्भावना कम रहेको छ । अरुणको ५.८३ म्याग्निच्युड छ । ८–१० इन्चको टेलिस्कोप भयो भने निकै राम्रो देखिने उनले वताए। वृहस्पतिको चम्किलोपन भने माइनस २.०५ म्याग्निच्युड रहेको छ । जुन नांगो आँखाले सहज रुपमा देखिनेछ । त्यसैगरी केही दिनदेखि सूर्यास्तसँगै पश्चिम आकाशमा चम्किलो रुपमा देखिँदै आएको शुक्र ग्रह स्पष्टसँग देखिन्छ । शुक्रको चम्किलोपन माइनस ४ रहेको छ । 
 

चन्द्रमा

विशेष