News

ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका चीनियाँ नागरिक भुँईमै सुतेपछि...

ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका चीनियाँ नागरिक भुँईमै सुतेपछि...

अनलाइमार्फत् ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका चीनियाँ नागरिक विरोध गर्दै भुँईमै सुतेका छन्। प्रहरीले वुधवार ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका चीनियाँ नागरिकले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन्। काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालय मिनभवनमा उपस्थित भएका चिनियाँ नागरिकले हतकडीसहित नाराबाजी गरेका थिए।

सञ्चारकर्मीहरूमाझ सार्वजनिक गर्ने बेला उनीहरूले फोटोग्राफरले फोटो खिच्ने क्रममा दुर्व्यवहार समेत गरेका थिए। चिनियाँ भाषामा नारावाजी गरेका उनीहरूले के भने? के बोले बुझ्न भने सकिएको थिएन। तर धेरैपटक ’ह्वाई’ भन्ने शब्द प्रयोग गरेका थिए। 

कार्यालय प्रमुख मनोज केसीका अनुसार प्रक्राउ परेर हत्कडी लगाएपछि चिनियाँ नागरिकहरू उत्तेजित हुने र दुर्व्यवहार गर्ने गर्छन्। आक्रमण गर्नसमेत खोज्ने केसीको भनाइ छ। 

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले १० नेपाली र ९ जना चिनियाँलाई पक्राउ गरेको हो। पक्राउ पर्ने नेपालीमा ५ जना महिला र ५ जना पुरुष छन् । अनलाइन व्यापारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख केसीले जानकारी दिए ।

५० हजार रूपैयाँबाट लगानी सुरू गरेका ती व्यक्तिले सुरूसुरूमा कमिसन खुरुखुरु पाएपछि ४८ लाख रूपैयाँ लगानी भइसकेको पत्तै नपाएको प्रहरीलाई सुनाएका थिए । त्यसपछि अनुसन्धानका क्रममा उनलाई ठगी गर्ने गिरोह भेटिएको प्रहरीको भनाई छ । प्रहरीले ती पीडितले रकम जम्मा गरेका चारवटा बैंक खाताबाट अनुसन्धान गरेको थियो ।

चारवटा खातामा डेढ महिनाको अन्तरमा एक करोड ६४ लाख रूपैयाँभन्दा बढीको कारोबार र २०÷२२ जनाले पैसा जम्मा गरेको देखिएकाले पीडितको संख्या ठूलो भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार ९ जना चिनियाँले काठमाडौंको विभिन्न तीन ठाउँमा कार्यालय खोलेर ठगी गर्ने गरेका थिए । उनिहरूले एक वेबसाइटको लिंक ह्वाट्सअपमा विभिन्न व्यक्तिलाई पठाएर अनलाइन व्यापारमा लगानी गरे तुरुन्तै ३० प्रतिशत मुनाफा पाइने भन्दै काउन्सेलिङ गर्ने गरेका थिए ।

चिनियाँ गिरोहले एक नेपाली व्यक्तिलाई सम्पर्क गरेर विभिन्न व्यक्तीको नाममा नेपाली खाता बनाउन लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘खाता खोले मासिक १० हजार रूपैयाँ पाइने भनेर प्रलोभन देखाइने रहेछ । मासिक १० हजार रूपैयाँ पाइने लोभमा नेपालीले अनलाइन बैंकिङको युजरनेम र पासवर्डसमेत गिरोहलाई बुझाएको देखियो’ एसएसपी केसीले भने–‘कतिपय अवस्थामा सम्बन्धित खातावालाले नै पैसा निकालेर आफूलाई खाता खोल्न लगाउने नेपालीलाई बुझाउने गरेको पाइएको छ।’

विशेष