News विदेश

के नेपालमै छन् भारतीय पृथकतावादी नेता अमृतपाल सिंह ?, हात धोएर पछि लागेको छ प्रहरी

के नेपालमै छन् भारतीय पृथकतावादी नेता अमृतपाल सिंह ?, हात धोएर पछि लागेको छ प्रहरी

भारतीय मिडियाहरुले अहिले पन्जाबको पृथकतावादी आन्दोलनका नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको दावी गरिरहेका छन् । भारतीय दुतावासले पनि सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको बताएको छ।

भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह नेपालमा रहेको विषयमा नेपालको सुरक्षा संयन्त्रले पुष्टि गर्न सकेको छैन। तर, उनी नेपालबाट तेस्रो देश जानसक्ने भन्दै निगरानी भने वढाईएको छ।

खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने वा गरिसकेको हुनसक्ने दुवै कोणबाट प्रहरीले काम गरिरहेको छ। अमृतपालबारे अनुसन्धान र खोजीको नेतृत्व प्रहरीको विशेष ब्युरोले सुरु गरिसकेको छ। यसका लागि विशेष ब्युरोको जनशक्तिसँगै अनुसन्धानमा खटिने अन्य युनिटका प्रहरी समेत परिचालन गरिएको छ।

पहिलो सम्भावना उनी नेपाल–भारत सीमामा लुक्न सक्ने भएकाले सीमावर्ती बस्ती अनि गुरुद्वारामा प्रहरी निगरानी बढाइएको छ। उनी खालिस्तानको पक्षधर भएकाले उनले धार्मिकस्थलमा शरण लिनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। 

उनी भेष बदलेर नेपाल आउनसक्ने आशंकामा सीमा क्षेत्रमा सतर्कता अपनाउँदै विभिन्न भेषका उनका तस्बिरहरू सर्कुलर गरिएको छ।  नेपालमा पनि केही खालिस्तानी समर्थक रहेको प्रहरी सूचीमा देखिन्छ।

अमृतपाल पृथकतावादी धार्मिक अभियानमा सक्रिय भएकाले उनी लुक्न धार्मिक क्षेत्र  प्रयोग हुनसक्ने प्रहरीको आशङ्का छ। नेपालमा वीरगन्ज, धनगढी, पाल्पा अनि स्याङ्जापछि ललितपुरमा शिख समुदायहरूको बसोबास देखिन्छ। बाँकेको बनकटवा, हिरमिनियामा पनि गुरुद्वारा छ।

ती क्षेत्रमा रहेको गुरुद्वारा र मठसँगै शङ्कास्पद व्यक्तिमाथि निगरानी भईरहेको छ। कुपन्डोलमा रहेको गुरु नानक सत्सँग गुरुद्वारा प्रहरीको उच्च निगरानीमा छ। सो क्षेत्रमा बस्ने शिख समुदायका केही व्यक्तिहरू समेत प्रहरी निगरानीमा रहेको स्रोतको दावी छ। थापाथली, पशुपति, ज्ञानेश्वर, बालाजु र शोभा भगवतीमा नानक मठ छन । बालाजुमा सबैभन्दा पुरानो ‘गुरु नानक मठ’ रहेको छ। सो क्षेत्र पनि प्रहरी निगरानीमा छ।

नेपालले भारतीय सुरक्षा निकायबाट अमृतपालको राहदानीबारे विस्तृत विवरण प्राप्त गरिसकेको जनाईन्छ। नक्कली राहदानी समेत प्रयोग गर्नसक्नेमा भारतीय पक्षले चासो राखेको छ।

त्रिभुवन विमानस्थलमा दुबई जाने विमानका यात्रुहरूमाथि निगरानी बढाइएको छ। दुबईमा बस्दा त्यहाँ काम गर्न गएका वा त्यतै बसेका नेपालीहरूसँग उनको मित्रता भएको हुनसक्ने  र उनीहरुले अमृतपाललाई नेपालमा लुक्न सघाउन सक्ने आशंकामा त्यसबारे समेत सूचना आदानप्रदान गर्ने अनि उनी यस अगाडि नेपाल आए–नआएकोबारे विवरणहरू सङ्कलन गर्ने काम भइरहेको बताईएको छ।

को हुन अमृतपाल सिंह
सन् २०२० मा भएको किसान आन्दोलनका कारण अभियन्ता बनेका सन्दीप सिंह सामाजिक सञ्जालमा चर्चामा रहे। सन् २०२२ को मार्चमा उनी ‘वारिस पञ्जाब दे’ अर्थात् पञ्जाबका सन्तति समूहका नेता बने।

दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो।

सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्कियो। २९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिए। दुबईमा ट्रान्सपोर्टको व्यापार गरिरहेका सिंह परिवार छोडेर ०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किए।

पञ्जाब फर्किएपछि उनले सार्वजनिक रूपमै हिंसाका पक्षमा वकालत गर। पछिल्लो समय उनले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आएका थिए। सुरूमा भारतको पञ्जाबभित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उनले सुनाएका थिए।

उनले भारतले पञ्जाबमा उपनिवेश लादेको बताएका थिए। चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थाले। अमृतपालका एक जना निकट पक्राउ परेपछि उनका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेरेका थिए। उनीहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए।

त्यसपछि प्रहरीले उनी र उनका समर्थकमाथि कारबाही तीव्र पारेको हो। गत शनिबार पञ्जाबको जलन्धर जिल्लामा प्रहरीले उनलाई पक्रन अपरेशन चलाएका बेला उनी मोटरसाइकलमा भागेको बताइएको छ।

खालिस्तान अभियान अहिले कहाँ छ?
गुरु नानकको जन्मस्थल ननकाना साहिब वर्तमान पाकिस्तानमा छ। यो क्षेत्र विभाजनअघिको भारतको एक हिस्सा थियो। त्यसैले यसलाई सिखहरूको मातृभूमि मानिन्छ। भारतमा सिख विद्रोह वा सशस्त्र सङ्घर्षको अवधि सन् १९९५ मा समाप्त भयो।

पछिल्लो समय अकाली दलका सांसद सिमरनजित सिंह मान र दल खालसाले लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले यो माग गर्दै आएका छन्। भारतबाहिर अमेरिकाबाट काम गर्ने संस्था ‘सिख फर जस्टिस’ले पनि खालिस्तानको माग गरेको छ । यद्यपि यी सबै सङ्गठनहरूलाई भारतीय पञ्जाबमा सीमित समर्थन मात्र छ। 

अमृतपाल सिंह

विशेष