News खेल

विश्वकप विजेता टोलीका ३५ जनालाई मेस्सीले उपहार स्वरुप दिदैछन् सुनको आइफोन

विश्वकप विजेता टोलीका ३५ जनालाई मेस्सीले उपहार स्वरुप दिदैछन् सुनको आइफोन

स्टार फुटबलर लियोनल मेस्सीले विश्वकप विजेता टोलीका हरेक सदस्यलाई २४ क्यारेट सुनको आइफोन दिने भएका छन्। सन् २०२२ को विश्वकप फुटबलको उपाधि जितेकाले अर्जेन्टिनी टोली खेलाडी र अफिसियल सहितका ३५ सदस्यलाई मेस्सीले सुनको आइफोन दिने भएका हुन्।

३५ वटा आइफोन किन्न मेस्सीले एक लाख ७५ हजार पाउण्ड (दुई करोड ७७ लाख ८३ हजार ९४१ नेपाली रुपैयाँ) छुट्याएको बेलायती पत्रिका द सनले जनाएको छ। यी आइफोन शनिबारै मेस्सीको पेरिसस्थित अपार्टमेन्टमा डेलिभर्ड भइसकेको छ।

हरेक आईफोनमा पछाडिपट्टीको भागमा प्रत्येक सदस्यको नाम, जर्सी नम्बर र अर्जेन्टिनी फुटबल सङ्घको लोगो छ। ‘लियोनलले आफ्नो सबैभन्दा गर्विलो समयलाई केही विशेष र रोचक तरिकाले मनाउन चाहन्थे’ सनले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ–‘यहीबीच उनी उद्यमी बेन लायोन्ससँग सम्पर्कमा आए। अनि दुवैले यस्तो डिजाइनबारे सोचे।’

आइडिजाइनका सीईओ बेनका अनुसार मेस्सी एक सर्वकालीन महान् खेलाडीसँग आइडिजाइनका नियमित ग्राहक पनि हुन्। विश्वकपको उपाधि जितेको केही महिनापछि आफूहरूको भेट भएको उनले स्वीकारेका छन्।

‘उनले (मेस्सीले) भने कि खेलाडी र स्टाफका लागि केही विशेष उपहार चाहिएको छ भनेर, तर उनले घडी जस्ता सामान्य उपहार दिन नचाहेको पनि बताए। त्यसैले मैले सुनको आइफोनमा उनीहरूको नाम लेखेर उपहार दिने तरिका सुनाएँ। उनले मन पराए’, बेनले भने।

विश्वकपको उपाधि जितेपछि मेस्सीले आफ्नो ठूलो सपना साकार भएको बताउँदै आएका छन्। उनी हालै सम्पन्न समारोहमा फिफाको वर्ष खेलाडी पनि घोषित भइसकेका छन्।

लियोनल मेस्सी

विशेष