News

मिटरब्याज पीडितको आन्दोलनमा छिर्यो राजनीतिः दुई खेमा सकृय

मिटरब्याज पीडितको आन्दोलनमा छिर्यो राजनीतिः दुई खेमा सकृय

मिटरब्याज पीडितहरुको आन्दोलनमा राजनीति पसेको छ। पीडितका नाममा सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्ताका दुई बेग्लाबेग्लै समूह सक्रिय छन् । एउटा समूहले केही मिटरब्याजीलाई पैदल हिँडाएर काठमाडौं ल्याएको छ ।

काठमाडौं ल्याइएका पीडितलाई खुलामञ्चमा शिविर बनाएर राख्न खोजिए पनि यो समूह सफल नभए पछि माइतीघरमा उनीहरुलाई धर्नामा राखिएको छ । मिटरव्याजीको आन्दोलनले राष्ट्रिय मिडियामा चर्चा पाएपछि मन्त्रीपरिषद बैठकले हिजो मिटरब्याजमा ऋण दिनुलाई अपराध घोषित गरेर मुलुकी अपराध संहितामा सम्बोधन गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयलाई मिटरब्याज पीडितको अर्को समूहले भत्र्सना गरेको हो ।

‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ को नाममा विज्ञप्ति जारी गर्दै सरकारको निर्णयमा यो समुहले आपत्ति जनाएको हो । अध्यक्ष अवधेश कुसवाहले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकारको झूटो आश्वासनमा नपरी मिटरव्याजविरुद्धको निर्णायक आन्दोलनमा जुट्न आह्वान गरिएको छ ।

‘मिटरब्याज केवल ठगी मात्र होइन, नेपालको असमान अर्थराजनीतिक संकटले निम्त्याएका विकराल समस्यालाई ठगीका रुपमा खुम्च्याएर प्राविधिक समाधान खोज्ने सरकारको रवैयाप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

समितिले ‘वास्तविक समाधानका लागि’ आगामी चैत २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा निर्णायक धर्नामा बस्ने घोषणा गरेको छ ।

मंगलवार पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध पनि नारावाजी भएको थियो। ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै उनीबिरुद्ध नाराबाजी गरे। आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताएका थिए ।

मिटरब्याज

विशेष