News

कांग्रेस छोडेको सन्देश पठाएपछि स्वर्णिमको मोवाईल स्विच अफ

कांग्रेस छोडेको सन्देश पठाएपछि स्वर्णिमको मोवाईल स्विच अफ

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसका ४ जना नेतालाई पार्टी छोडेको सन्देश पठाएर मोवाईल स्विच अफ गरेर वसेका छन् । बिहानदेखि सम्पर्क गर्न खोज्दा पनि सम्भव नभएको कांग्रेस केन्द्रीय सदस्यहरुले वताएका छन् ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । उपचुनाव लड्ने मूड बनाएका वाग्लेले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत भेटन अस्विकार गरे।

महामन्त्री थापा, शर्मा, नेताहरु शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई ह्वाट्सएपमा सन्देश पठाएर कांग्रेस छाडेको उनले जानकारी गराएका छन् । ‘हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

उनले चार नेतालाई कांग्रेस पार्टीमा तपाईंहरुको निर्णायक हैसियत बनेको दिन कुनै न कुनै रुपमा जोडिनसक्ने आशा समेत व्यक्त गरेका छन् । उनको आफ्नो सन्देशको अन्त्यमा भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

रास्वपाले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए । तर कांग्रेसले पनि उनलाई टिकट दिएन । 

यस्तो छ उनको सन्देश

प्रिय शेखर दाइ, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।

स्वर्णिम

स्वर्णिम वाग्ले

विशेष