News

जलेको अनुहारको उपचार गर्न कोकिन तस्करी, १७ करोडको कोकिनसहित २ महिला पक्राउ

जलेको अनुहारको उपचार गर्न कोकिन तस्करी, १७ करोडको कोकिनसहित २ महिला पक्राउ

करिव १७ करोडको ८ किलोग्राम कोकिनसहित प्रहरीले दुई भारतीय महिलालाई पक्राउ गरेको छ । काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भनल्वामीलाई १४ चैतमा करिव ३ किलो कोकिन र २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको हो।

दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानअनुसार भनल्वामी चैत २ गते नयाँ दिल्लीबाट इथोपिया गएकी थिइन् भने चैत १३ गते कतार हुँदै काठमाडौं आइपुगेकी थिइन् । इथोपियाबाट गुयानाको कोनाक्रि पुगेपछि त्यहाँ उनलाई उक्त कोकिन जिम्मा दिइएको थियो । उनले त्यो कोकिन भारत पुर्याउनु पर्ने थियो । 

गुयानाबाट मोरक्को हुँदै कतारबाट काठमाडौं आईपुगेकी भनल्वामीको अनुहार पुरा जलेर टाटा बसेको देखिन्छ भने एउटा हात पनि जलेको छ । ४ वर्षअघि घरमा सिलिन्डर पड्किएर आफ्नो शरीर जलेको उनले बताएकी छन् । उपचार गर्न पैसा आवश्यक परेकाले आफू कोकिनको भरिया बनेर गुयाना पुगेको उनको भनाई छ।

भनल्वामीले आफ्नो एक छोरा र एक छोरी रहेको तर श्रीमान भने नभएको बताएकी छन् । ठमेलबाट पक्राउ परेकी इस्टर लालिम्पुरी पनि उनकै आफन्त हुन। उनी १४ गते नै कतारबाट नेपाल आईपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी ८ गते नयाँ दिल्लीबाट इथोपिया हुँदै बेनिन पुगेर उक्त कोकिन ल्याएकी हुन् । बेनिनबाट मोरक्को हुँदै कतार भएर काठमाडौं आइपुगेको प्रहरीले जनाएको छ । 
 

विशेष